सोधपुछपछि परिवारको जिम्मा लगाइए पूर्वप्रधानन्यायाधीश जबरा
काठमाडौं। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले सोधपुछपछि परिवारको जिम्मा लगाएको छ।
महाराजगञ्जस्थित निवासबाट गएराति प्रहरी नियन्त्रणमा लिइएका जबरालाई आइतबार सोधपुछपछि परिवारको जिम्मा लगाइएको हो। सुरुमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको पुष्टि गरे पनि पछि सुरक्षा चुनौती देखिएपछि सुरक्षित स्थानमा ल्याइएको बताएको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार जबरामाथि कुनै मुद्दा चलाउने तयारी नरहेको र उनलाई सुरक्षा चुनौतीका कारण कार्यालयमा ल्याइएको थियो। प्रहरीले सुरक्षा चुनौतीको प्रकृति भने खुलाएको छैन।
जबरालाई राति करिब ३ बजे महाराजगञ्जस्थित निवासबाट प्रहरीले टेकुस्थित कार्यालयमा ल्याएको थियो। घटनापछि उनलाई पक्राउ गरिएको हो कि सुरक्षाका लागि नियन्त्रणमा लिइएको हो भन्ने विषयमा केही समय अन्योल देखिएको थियो।
सोधपुछपछि भने प्रहरीले जबरालाई परिवारकै जिम्मा लगाएर छाडेको हो।
