के वालेन्द्रलाई हटाएर प्रधानमन्त्री बन्न खोज्दै थिए चोलेन्द्र?
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेपाल आइपुगेको ५ घण्टा नबित्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा पक्राउ परे । अहिले उनी प्रहरी हिरासतमा छन् । भनिन्छ, राणाले राजनीतिक चलखेल निकै तीब्र पारेका थिए । स्रोतको दाबीमा उनले आफू प्रधानमन्त्री बन्ने मेलोमेसो मिलाइरहेका थिए । त्यसका लागि देशी-विदेशी शक्ति केन्द्रसँग उनको उठबस भइरहेको थियो ।
केही दलहरुले दसैं तिहारपछि देशमा ठूलो आन्दोलन हुने र त्यो आन्दोलनले बालेन सरकार ढाल्ने चेतावनी दिइरहेका थिए । त्यसरी बालेन सरकार ढालेपछि पूर्वप्रधानन्यायाधीश राणा प्रधानमन्त्री हुने चर्चा पनि थियो । केही राजनीतिक विश्लेषकहरुले पनि त्यस्तै टिप्पणी गरिरहेका थिए । यस्तोमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर फर्किएको केही घण्टामै राणा पक्राउ परेका हुन् ।
काठमाडौंको बाँसबारीस्थित निवासबाट पक्राउ परेका राणा यतिबेला अपराध अनुसन्धान कार्यालय टेकुको हिरासतमा छन् । प्रहरीले भने जेनजीबाट उनी असुरक्षित भएको थाहा पाएपछि सुरक्षाका लागि नियन्त्रणमा लिएको जनाएको छ र पक्राउ गरेको अस्वीकार गरेको छ ।
तर, राणाको विगत राम्रो छैन । उनी निकै विवादित पूर्वप्रधानन्यायाधीश हुन् । उनी प्रधानन्यायाधीश भएकै बेला सर्वोच्च अदालतमा भ्रष्टाचार मौलाएको आरोप लाग्यो । विचौलियाको रजगज चलेको आरोप लाग्यो ।
२०७८ फागुन १ गते त उनीविरुद्ध प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भयो। त्यसपछि उनी निलम्बित भए। महाभियोग टुंगो नलाग्दै उनको कार्यकाल समाप्त भयो।
उनको कार्यकालमा न्यायालयभित्रै ठूलो असन्तुष्टि देखिएको थियो। नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रियो।
न्यायाधीशहरूले इजलासमा बस्न अस्वीकार गरे । न्यायलय ठप्प भयो ।
कतिसम्म भने देउवा मन्त्रिपरिषदमा उनले भागबण्डा खोजेको आरोप लाग्यो । हुन पनि सांसदसमेत नरहेका उनका जेठान गजेन्द्र हमाल उद्योग वाणिज्यमन्त्री भए । हमाललाई चोलेन्द्रको कोटाबाट मन्त्री बनाएको भन्दै आलोचना देशव्यापी चुलियो । विरोध सडक र सदनमा भयो । अन्ततः हमालले केही दिनमै मन्त्रीबाट राजीनामा दिए ।
तर राणाको सबैभन्दा चर्चित विवादमध्ये एउटा रञ्जन कोइराला प्रकरण हो।
जबराको इजलासले पत्नी गीता ढकालको हत्यामा दोषी ठहर भएका तत्कालीन डीआईजी रञ्जन कोइरालाको २० वर्षको कैद घटाएर ८ वर्ष ६ महिना कायम गरेको थियो। त्यसपछि कोइराला जेलबाट छुटे। उनले त्यसबेला कोइरालालाई सजाय चर्को भएको चित्तमा परेको भन्दै घटाएको तर्क गरेका थिए । दुई छोराको अभिभावकसमेत कोइराला भएकाले उनीहरुको संरक्षणका लागि भए पनि सजाय घटाउनु न्यायोचित हुने जिकिर गरेका थिए । तर, सर्वोच्चकै अर्को पूर्ण इजलासले २०७९ जेठ १२ गते त्यो फैसला उल्टायो। २० वर्षकै कैद कायम भयो।
यही घटनाले एउटा गम्भीर प्रश्न जन्मायो।
कानुनको शासन भनेको न्यायाधीशको व्यक्तिगत चित्त हो कि स्थापित कानुनी सिद्धान्त?
जबराको न्यायिक यात्रामा अन्य विवादित फैसला पनि चर्चामा आए। तत्कालीन पुनरावेदन अदालत विराटनगरमा छँदा उनले म्यारिज खेललाई दिमागी खेल भन्दै जुवातास भन्न नमिल्ने फैसला गरे । जुन फैसला निकै विवादित बन्यो ।
यति मात्रै होइन, उनका अरु पनि विवादित फैसला र आदेश थिए । उनले न्याय क्षेत्रप्रति अविश्वास थप फैलाउने फैसला एकपछि अर्को गरेको आरोप लाग्यो ।
उनै राणाविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शासकीय मामिला तथा न्यायिक कामकारबाहीमा चलखेल गरेको आरोपमा उजुरी परेको थियो । राणाले आफूलाई राजनीतिक रुपमा सक्रिय बनाएर भावी कुनै पदका लागि महत्वकांक्षा राखेको दाबी स्रोतको छ ।
अदालतमा विचाराधीन मुद्दामा चासो र रुचि देखाएको आरोप छ । खासगरी डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश भएपछि बाँसबारीस्थित निवासबाट राजनीतिक र न्यायिक चलखेल थालेको र महत्वपूर्ण मुद्दामा जोडिएका व्यक्तिहरु उनको घरमा जाने फर्किने गरेको र त्यसबारे सुरक्षा निगरानी बालेन सरकारले बढाएको थियो ।
भनिन्छ, उनले नेपाल टेलिकमको बहुचर्चित टेरामक्स प्रकरण र वीरगञ्जका मेयर राजेशमान सिंहले सफाइ पाएको मुद्दाअघि मुद्दाका सरोकारवालासँग छलफल गरेका थिए ।
यिनै घटनाक्रमबीच राणालाई बालेन सरकारले पक्राउ गरेको हो । पक्राउका क्रममा पक्राउ पुर्जी वा आरोपबारे जानकारी नदिइएको जनाएको छ। अर्कोतर्फ, प्रहरीका एक अधिकारीले सुरक्षा चुनौतीका कारण उनलाई सुरक्षित राख्न नियन्त्रणमा लिइएको बताएका छन्।
