मध्यराति जबरा नियन्त्रणमा, पक्राउ पुर्जीसमेत नदिएको भन्दै पोखरेलको आपत्ति
काठमाडौं। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाराजगञ्जस्थित निवासबाट मध्यराति नियन्त्रणमा लिइएको घटनाप्रति नेकपा एमालेका महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले जबरालाई पक्राउ गरिएको घटनालाई नेपालको प्रचलित कानुन र न्याय प्रणालीसँग जोडेर प्रश्न उठाएका छन्। उनले यस्तो कार्य संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीत भएको दाबी गरेका छन्।
पोखरेलले गलत र स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु भएको टिप्पणी गर्दै सबैलाई यस्ता गतिविधिविरुद्ध खबरदारी गर्न आग्रह गरेका छन्।
जबरालाई आइतबार बिहान करिब ३ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट टेकुस्थित कार्यालयमा लगेको हो। प्रहरीका अनुसार उनलाई सुरक्षा चुनौती देखिएपछि सुरक्षित स्थानमा राख्न कार्यालय ल्याइएको थियो। प्रहरीले उनलाई पक्राउ पुर्जी नदिएको र उनीविरुद्ध मुद्दा चलाउने योजना नरहेको जनाएको छ।
यसअघि विभिन्न सञ्चारमाध्यमले जबरालाई पक्राउ गरिएको र उनीविरुद्ध उजुरी परेको उल्लेख गरेका थिए। तर, प्रहरीले आइतबार सार्वजनिक गरेको पछिल्लो विवरणमा उनलाई सुरक्षा चुनौतीका कारण कार्यालय ल्याइएको बताएको छ।
जबराविरुद्ध २०७८ फागुनमा प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए। हालै सर्वोच्च अदालतको संवैधानिक इजलासले महाभियोगसम्बन्धी विवादमा रिटहरू खारेज गर्दै प्रस्तावको औचित्य समाप्त भएको ठहर गरेको थियो।
