बालेनको सम्बोधनले नेपालीको शिर उच्च बनायो : सांसद न्यौपाने
काठमाडौं । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद श्रीराम न्यौपानेले प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय मञ्चमा भएको सम्बोधनको प्रशंसा गरेका छन्।
‘गरिब र सानो भूगोलबाट प्रतिनिधित्व गर्दै विश्व समुदायसमक्ष नेपालले भोगेको क्षतिलाई उजागर गर्नु ऐतिहासिक कदम हो,’ सांसद न्यौपानेले भनेका छन्।
‘जेन्जी आन्दोलनपछि अत्यधिक जनमत प्राप्त गर्दै विश्वकै कान्छा प्रधानमन्त्रीले जलवायु सङ्कटले निम्त्याएको विनाशबारे विश्व समुदायलाई जिम्मेवारी बोध गराउनुभएको छ’, उनले भने। उनले प्रधानमन्त्रीले उठाएको विषय विश्वका लागि महत्वपूर्ण सन्देश बनेको बताए।
न्यौपानेले प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको विषय उठाउँदा विश्व मञ्चमा नेपालको पहिचान बढेको र हरेक नेपालीको शिर गर्वले ठाडो बनेको बताए।
उनले बाढी तथा विपद्पछिको पुनःस्थापना र पुनःनिर्माणमा विश्व समुदायको चासो र सहयोगी भूमिका रहने विश्वाससमेत व्यक्त गरे।
