`

महोत्तरीमा लालपुर्जाका लागि २८ हजारभन्दा बढी आवेदन

Nepal One HD १३ असोज २०८३ १९:१२
समाचार

महोत्तरी । भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार ४३५ जनाले लालपुर्जा प्राप्तिका लागि आवेदन दिएका छन् ।

भूमि समस्या समाधान समिति महोत्तरीले जिल्लामा प्राप्त आवेदनमध्ये २८ हजार २२७ वटा प्रणालीमा प्रविष्ट भइसकेको र २०८ वटा प्रविष्ट गर्न बाँकी रहेको जनाएको छ ।

प्रणालीमा प्रविष्ट भएका आवेदनमध्ये सबैभन्दा बढी भूमिहीन परिवारका १६ हजार २३९ आवेदन छन् । तीमध्ये आठ हजार ४१८ भूमिहीन दलित र सात हजार ८२१ भूमिहीन सुकुमवासीका आवेदन छन् ।

त्यस्तै, अव्यवस्थित बसोवासीका ११ हजार ६९१ आवेदन प्राप्त भएका छन् । समितिले २१७ वटा आवेदन प्रणालीमा सामेल नगर्ने गरी अस्वीकृत गरेको जनाएको छ ।

समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिम्मेवारी पाएसँगै कामलाई निरन्तरता दिइरहेको बताए । उनले निश्चित पद्धति र प्रक्रियाबाट काम अघि बढाउँदा केही समय लाग्ने बताए ।

जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमा १३८ वडा छन् । तीमध्ये सम्सी–४, पिपरा–१, सोनमा–५ र ६ तथा मनराशिश्वा–७ र ९ गरी छवटा वडाबाट भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीमध्ये कुनै प्रकृतिका आवेदन नपरेको समितिले जनाएको छ ।

भूमि समस्या समाधानका लागि हकदाबीको सातदिने सूचना ११७ वडामा प्रकाशन गरिएको छ भने ९३ वटा वडामा वडास्तरीय सहजीकरण समिति गठन भएर काम अघि बढेको छ । समितिबाट २६ वडाका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासी पहिचान भइसकेको जनाइएको छ ।

पालिकास्तरमा अहिलेसम्म सम्सी, सोनमा, महोत्तरी, जलेश्वर र बर्दिबासमा मात्र सहजीकरण समिति गठन भएका छन् । स्थलगत अध्ययन, जग्गाको प्रकृति, हकभोगको अवस्था यकिन, नाप–नक्सा तथा वडा र पालिकास्तरीय सहजीकरण समितिबाट निर्णय भएका आवेदनलाई जिल्ला भूमि समस्या समाधान समितिले आवश्यक अध्ययन गरी टुङ्ग्याउने प्रक्रिया रहेको छ ।

वर्तमान सरकार गठनपछि जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भूमि समस्या समाधान समिति गठन गरिएको हो । समितिले आवश्यक प्रक्रिया पूरा गरी भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) उपलब्ध गराउने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *