`

डकैती गर्न आएका समूहसँग प्रतिकार गर्दा वृद्धाको मृत्यु, तीन जना पक्राउ

Nepal One HD १४ असोज २०८३ १७:३१
अपराध

काठमाडौं । पर्साको धोबिनी गाउँपालिका-५ की ६२ वर्षीया लखरजिया देवीको मृत्यु डकैती गर्न आएका समूहसँग प्रतिकार गर्ने क्रममा भएको खुलेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

५ असोजको बिहान करिब ८ बजे लखरजिया आफ्नै दुई तले पक्की घरको दोस्रो तलाको कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पोखरियाको टोली घटनास्थल पुगेको थियो ।

शवको अवस्था हेर्दा प्रहरीले सुरुमा हत्या भएको आशंका गरेको थियो । अनुसन्धानका क्रममा उनको मृत्यु राति करिब ३ बजे भएको खुलेपछि प्रहरीको विशेष टोली र तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो । घटनास्थल तथा लासजाँच मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको थियो । पोस्टमार्टमपछि परिवारले शव बुझेर अन्त्येष्टि गरे पनि प्रहरीले अनुसन्धानलाई निरन्तरता दिएको थियो ।

अनुसन्धानका क्रममा लखरजियाको मृत्यु डकैती गर्न घरमा प्रवेश गरेको समूहको आक्रमणबाट भएको खुलेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले धोबिनी गाउँपालिका-५ का १८ वर्षीय चन्दन कुमार पटेल, १८ वर्षीय घलथरिया भनिने राज कपुर बैठा र १८ वर्षीय रामु पासवानलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्र मल्लका अनुसार मृतकको घरबाट चोरी भएका नगद तथा गरगहना र घटनामा प्रयोग भएका केही सामग्री बरामद भएका छन् । चन्दन कुमारको घरबाट चोरी गरिएका दुई थान सुनका चुरा बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै, राज कपुरको साथबाट ७६० रुपैयाँ बरामद भएको छ ।

प्रहरीका अनुसार डकैतीपछि तीनै जनाले रकम तथा गरगहना आपसमा बाँडेका थिए । चोरीबाट प्राप्त रकममध्ये ३ हजार रुपैयाँ उनीहरूले यसअघि उधारोमा खाएको पसलमा तिरेकोसमेत अनुसन्धानबाट खुलेको छ । घटनामा प्रयोग भएको भनिएका चक्कु, पिलास र गाडीको स्प्रिङको पत्तासमेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धानअनुसार घटनाको राति करिब साढे ११ बजे तीनै जना राज कपुरको घरमा जम्मा भएका थिए । त्यहाँ गाँजा सेवन गरेपछि उनीहरूले चोरी गर्ने योजना बनाएको प्रहरीको भनाइ छ ।

योजनाअनुसार उनीहरू राति करिब साढे २ बजे लखरजियाको घरको पछाडिको पर्खाल हुँदै माथिल्लो तलामा पुगेका थिए । झ्यालबाट घरभित्र प्रवेश गरेपछि उनीहरूले स्टिलको दराज फोडेर नगद तथा गरगहना चोरी गरेका थिए ।

अन्य कोठामा राखिएको टिनको बक्सासमेत फुटाउँदै गर्दा लखरजियाले थाहा पाएपछि माथिल्लो तलामा पुगेकी थिइन् । चोरी गर्न आएका व्यक्तिहरूसँग प्रतिकार गर्ने क्रममा उनीहरूमध्येबाट भएको आक्रमणमा लखरजियाको मृत्यु भएको प्रहरीको दाबी छ ।

प्रहरकाले पक्राउ परेका तीनै जनाविरुद्ध हत्या कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *