‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै
बाँके। नेपालगञ्ज उपमहानगरपालिकाले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगञ्ज-१ धम्बोजीका दुई युवाको योगदानसहित परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी गरेको छ।
वि.सं. २०८२ भदौ २३ गते काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभराज श्रेष्ठको योगदानलाई नयाँ पुस्तामाझ परिचित गराउँदै उहाँहरूको स्मृतिलाई दीर्घकालसम्म जीवन्त राख्ने उद्देश्यले स्थानीय पाठ्यक्रममा परिचय समेट्न लागिएको उपमहानगर कार्यालयले जनाएको छ।
उपमहानगरप्रमुख प्रशान्त विष्टले सहिद परिवारको आग्रहअनुसार दुवै युवाको परिचय स्थानीय पाठ्यक्रममा समावेश गर्ने प्रक्रिया अघि बढाइने बताए। “नयाँ पुस्तालाई जेनजी सहिदको योगदानबारे जानकारी गराउँदै उहाँहरूको स्मृतिलाई जीवन्त राख्न स्थानीय पाठ्यक्रममा परिचय समेट्ने तयारी भइरहेको छ”, उनले भने।
सरकारी विवरणमा पनि आयुष थापा र सुलभराज श्रेष्ठलाई नेपालगञ्ज-१, बाँकेका जेनजी सहिदका रूपमा उल्लेख गरिएको छ । दुवै युवाको सम्मान तथा स्मृतिमा नेपालगञ्ज उपमहानगर र वडा कार्यालयले विभिन्न भौतिक तथा सामाजिक गतिविधि पनि अघि बढाएको छ।
नेपालगञ्ज-१ का वडाध्यक्ष एवं प्रवक्ता प्रमोद रिजालका अनुसार धम्बोजीस्थित वडा कार्यालय परिसरमा दुवै सहिदको स्मृतिमा ‘सहिद योग भवन’ र खुला ‘जिम हाउस’ निर्माण गरिएको छ । उहाँहरूकै सम्मानमा थप संरचना निर्माण प्रक्रिया पनि अघि बढाइएको उनको भनाइ छ।
वडाध्यक्ष रिजालले भने, “उहाँहरूको सम्मानमा वाटरपार्क नजिकै अर्धकदको सालिक निर्माण गर्नुका साथै विशालनगर क्षेत्रमा उहाँहरूका नाममा ‘सहिद प्रवेशद्वार’ निर्माण भइरहेको छ ।” उपमहानगरले दुवै सहिदको स्मृतिमा ‘सहिद रनिङ शिल्ड’ प्रतियोगिता सञ्चालन गर्ने निर्णय पनि गरेको उनले जानकारी दिए।
वडाध्यक्ष रिजालका अनुसार स्थानीय सरकार सहिद परिवारका समस्या तथा माग सम्बोधन गर्न निरन्तर संवादमा छ। जेनजी आन्दोलनका क्रममा एउटै टोलका दुई युवाले ज्यान गुमाएपछि धम्बोजीका स्थानीयवासीमा घटनाको अहिलेसम्म प्रभाव रहेको स्थानीयवासी बताउँछन्।
आयुष र सुलभका परिवारले छोराहरूको मृत्युको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गर्दै आएका छन्। आफ्ना छोराले काठमाडौँमा ज्यान गुमाएको एक वर्ष बितिसक्दा पनि घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुन नसकेको भन्दै सहिदका आफन्त तथा परिवारले तत्काल आफ्ना माग सम्बोधन हुनुपर्ने बताएका छन्।
परिवारले सहिदको सम्मान, परिवारका एक सदस्यलाई रोजगारी, घटनाको निष्पक्ष छानबिन तथा गोली चलाउनेमाथि कानुनी कारबाहीको माग सरकारसँग गर्दै आएका छन् । सहिद आयुष थापाका पिता सुशील थापाले आन्दोलनका क्रममा निर्दोष युवाले ज्यान गुमाए पनि घटनाको जिम्मेवारी लिने र दोषीमाथि कारबाही गर्ने काम हुन नसकेको बताए।
नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले जेनजी आन्दोलनका सहिदका चाहना र माग पूरा गर्ने जिम्मेवारी आन्दोलनपछि बनेको सरकारको भएको बताए। “जेनजी आन्दोलनका सहिदका चाहना र माग पूरा गर्ने जिम्मेवारी आन्दोलनपछि बनेको सरकारको हो । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्दछ”, उनले भने।
नेपालगञ्ज उपमहानगरले जेनजी सहिदको स्मृतिलाई स्थानीय तहमा संस्थागत गर्ने उद्देश्यले पाठ्यक्रममा उहाँहरूको परिचय समेट्ने तयारी गरेको छ । यससँगै सहिदको स्मृतिमा भौतिक संरचना, खेलकुद तथा अन्य सामाजिक गतिविधिलाई निरन्तरता दिइएको छ । सहिद परिवारले भने स्मृतिका कार्यक्रमसँगै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाही हुनुपर्ने मागलाई निरन्तर उठाउँदै आएका छन्।
