नेसनल मेडिकल कलेजमा ‘नक्कली डाक्टरदेखि नक्कली बिरामीसम्म’को खेल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारीले वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा गम्भीर अनियमितता भइरहेको आरोप लगाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै अन्सारीले लामो समयदेखि आन्दोलनमा रहेका आवासीय चिकित्सकको समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताए।
उनका अनुसार आन्दोलनरत चिकित्सकलाई होस्टल खाली गर्न दबाब दिइएको छ भने अस्पतालमा काम गर्न र कलेज परिसरमा प्रवेश गर्नसमेत रोक लगाइएको छ। पछिल्लो समय नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक र प्रशासनबीच विवाद चर्किएको र प्रवेश रोक, स्टाइपेन्ड, ड्युटी तथा अन्य व्यवस्थापनसम्बन्धी विषयमा चिकित्सकहरूले विरोध गर्दै आएका छन्।
अन्सारीले कलेजमा २५ जनाभन्दा बढी ‘फेक फ्याकल्टी’ रहेको दाबी गरे। उनका अनुसार त्यस्ता प्राध्यापक देखाएर स्नातकोत्तर तहका सिट लिने गरिएको छ।
चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा समेत कलेजले वास्तविक अवस्थाभन्दा फरक चित्र देखाउने गरेको आरोप उनले लगाए। निरीक्षण टोली आउँदा सुरक्षा गार्डलाई नै बिरामी बनाएर इमर्जेन्सीमा राखिएको उनको दाबी थियो।
त्यस्तै, विद्यार्थीलाई परीक्षा उत्तीर्ण गराइदिने नाममा रकम असुल्ने गरेको आरोपसमेत अन्सारीले लगाए। उनका अनुसार नेपाली विद्यार्थीबाट एउटा विषय पास गराइदिने भन्दै ३ लाख रुपैयाँसम्म र विदेशी विद्यार्थीबाट ५ लाख रुपैयाँसम्म लिने गरिएको छ।
‘उत्तरपुस्तिकामै उत्तर लेखेर पास गराउने खेल चलिरहेको छ,’ भन्दै उनले प्रश्न गरे, ‘यस्तो अवस्थामा चिकित्सा शिक्षा प्रणाली कसरी सुधारिन्छ?’
अन्सारीले कलेजमा भइरहेको भनिएका यस्ता गतिविधिबारे नियामक निकायको भूमिकामाथि समेत प्रश्न उठाए। राज्यका सम्बन्धित निकायले प्रभावकारी अनुगमन र कारबाही गर्न नसकेको उनको आरोप थियो।
उनले सरकारलाई तत्काल छानबिन गर्न आग्रह गर्दै विद्यार्थीको शैक्षिक भविष्यसँग खेलबाड हुन नदिन माग गरे।
‘मेरिटका आधारमा आएका विद्यार्थीको भविष्य अन्योलमा पार्न मिल्दैन,’ अन्सारीले भने, ‘मन्त्रीज्यूले गम्भीर भएर छानबिन गर्नुपर्छ।’
यसैबीच, कलेज प्रशासनले भने आवासीय चिकित्सकहरूको आन्दोलनका कारण शिक्षण सिकाइको वातावरण प्रभावित भएपछि उनीहरूलाई कलेज प्रवेशमा रोक लगाइएको दाबी गरेको छ।
