बालिका र महिलामाथिको हिंसाबारे रास्वपा सांसदको सरकारसँग जवाफ माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले बालिकामाथि हुने जघन्य अपराध र महिलामाथिको हिंसा रोक्न सरकारले गरिरहेका कामबारे संसद्मा जवाफ मागेकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यसअघि सदनमा उठेको बालिकामाथिको बलात्कारसम्बन्धी घटनामा सरकारले तत्काल प्रतिक्रिया जनाएकोमा धन्यवाद दिँदै त्यसपछि अघि बढाइएको कामको अवस्थाबारे जानकारी मागिन्।
उनले सरकारले तयार पारिएको भनिएको प्रतिवेदनमाथि के भइरहेको छ भन्ने स्पष्ट पार्न आग्रह गरिन्। सरकारका सामु अन्य थुप्रै जिम्मेवारी भए पनि बालबालिका र महिलामाथिको हिंसाको विषय प्राथमिकताबाट हट्न नहुने उनको भनाइ थियो।
‘यो विषय सरकारको प्राथमिकताबाट हराएको छैन भन्ने विश्वास छ। तयार भएको भनिएको प्रतिवेदनमाथि अहिले के काम भइरहेको छ, त्यसबारे जान्न चाहन्छु,’ उनले भनिन्।
भारतलगायत विभिन्न देशमा महिलामाथि हुने यौन हिंसाविरुद्ध उठिरहेका आवाजको प्रसंगसमेत उल्लेख गर्दै श्रेष्ठले यस्तो समस्या कुनै एउटा समाज वा समुदायमा मात्र सीमित नभएको बताइन्।
उनका अनुसार महिलामाथिको यौन हिंसा नियन्त्रण गर्न कानुनी तथा सरकारी प्रयाससँगै सामाजिक तहमा पनि काम आवश्यक छ।
