`

‘संसदीय प्रक्रियाले नदिए अध्यादेशबाटै काम अघि बढाऔँ’

Nepal One HD १६ असोज २०८३ १३:४६
राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले नागरिकका तत्कालीन समस्या समाधानका लागि सरकारले आवश्यक ठाउँमा अध्यादेशमार्फत काम अघि बढाउनुपर्ने बताएका छन्।

बर्खे अधिवेशनको अन्तिम दिन प्रतिनिधिसभाको शून्य समयमा बोल्दै कार्कीले विशेषगरी आफ्नो निर्वाचन क्षेत्र मोरङ–३ का भूमिसम्बन्धी समस्या समाधानमा संसदीय प्रक्रिया निकै सुस्त भएको बताए। कार्की मोरङ–३ बाट निर्वाचित सांसद हुन्।

उनले आफ्नो निर्वाचन क्षेत्रले जग्गासम्बन्धी समस्या, विकासका अधुरा योजना, बजेट, पूर्वाञ्चल विश्वविद्यालय र शिक्षण अस्पताललगायत विषय समाधानका लागि संसद्मा पठाएको बताए।

देशभर शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र संस्कृतिसँग जोडिएका थुप्रै समस्या रहेको उल्लेख गर्दै उनले ती विषयलाई लामो प्रक्रियामा अल्झाइराख्न नहुने धारणा राखे।

‘संसदीय प्रक्रियाको सुधार अत्यावश्यक छ। मेरो क्षेत्रको भूमिसम्बन्धी समस्या छिटो समाधान गर्न सक्ने गरी संसद्को नियमित प्रक्रिया बनेको छैन,’ उनले भने, ‘अब अध्यादेशमार्फत काम अगाडि बढाउनुपर्छ।’

कार्कीले कानुनी प्रक्रिया आफैँ नागरिकका लागि बाधक बन्न नहुने बताए। समस्या समाधानमा प्रक्रियागत जडताले ढिलाइ गरिरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।

‘प्रक्रियाको जडताले नागरिकलाई दुःख दिनु हुँदैन। आशा छ, अध्यादेश आएर अर्को अधिवेशन खुल्दा मेरो क्षेत्रको समस्याले समाधानको बाटो भेट्दछ,’ उनले भने।

संघीय संसद्को चालु अधिवेशन २८ वैशाख २०८३ मा सुरु भएको थियो। यस अवधिमा बजेट तथा बजेटसँग सम्बन्धित कानुनसहित अध्यादेशमार्फत ल्याइएका व्यवस्थालाई प्रतिस्थापन गर्ने विधेयकहरू पनि संसद्बाट पारित भएका छन्।

सरकारले सिफारिस गरेपछि राष्ट्रपतिबाट चालु अधिवेशन अन्त्य गरिएको छ। संविधानअनुसार संसद्को अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *