‘म पनि कांग्रेस हुन्थेँ’ (भिडियो)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सकारात्मक र कमजोर पक्षमाथि टिप्पणी गर्दै केही अवस्था फरक भएको भए आफू पनि कांग्रेस बन्न सक्ने बताएका छन्।
आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले कांग्रेसभित्र निष्ठा, अवसरको समान वितरण र नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउने विषयमा प्रश्न उठाए।
‘यदि कांग्रेसले पार्टीमा निष्ठालाई पूँजी मान्नेहरूलाई महत्व दिएको भए, भौतिक पूँजी भएकाहरूलाई मात्र महत्व नदिएको भए म पनि कांग्रेस हुन्थेँ होला,’ उनले भने।
उनले अवसरबाट टाढा रहेका तथा पछाडि परेका समुदाय र क्षेत्रलाई प्रतिनिधित्व गराउने नाममा अवसर पाइसकेका व्यक्तिलाई नै प्राथमिकता दिने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए। त्यस्तै, कम उमेरमै नेतृत्वमा पुग्ने प्रेरणा कांग्रेसले दिएको भए आफू पनि कांग्रेस हुन सक्ने उनको भनाइ थियो।
लामिछानेले कांग्रेसले आफ्नै चुनाव चिह्न रुख छाडेर अन्यत्र मतदान गर्न निर्देशन नदिएको भए पनि आफू कांग्रेस हुन सक्ने बताए। यद्यपि, विगतका विषयमा अल्झिनुभन्दा अब देश निर्माणका लागि सबै दल मिलेर अघि बढ्नुपर्ने उनले बताए।
उनले राजनीतिक दलहरूले समानुपातिक र समावेशी प्रतिनिधित्वको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए। राष्ट्रियता, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनजीविकाका सवालमा दलहरूबीच मतभेद नरहनुपर्ने उनको भनाइ थियो।
‘जब मुलुकको कुरा हुन्छ, जब संविधानको कुरा हुन्छ, जब संघीय लोकतान्त्रिक गणतन्त्रको कुरा आउँछ, जब जनजीविकाको कुरा आउँछ, त्यतिखेर पार्टी फरक हुँदैन, झण्डा फरक हुँदैन, नारा फरक हुँदैन। एउटै कुरा हुन्छ, मुलुक, मुलुक र मुलुक,’ उनले भने।
यही भावनाका साथ आफू कांग्रेसको महाधिवेशनमा सहभागी भएको लामिछानेले बताए। उनले मधेशको छोरालाई प्रधानमन्त्री बनाएर आएको प्रसंगसमेत उल्लेख गर्दै सबै समुदाय र क्षेत्रलाई समेटेर अघि बढ्नुपर्ने धारणा राखे।
