`

दुई लाखभन्दा बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ

Nepal One HD २० असोज २०८३ २१:३२
समाचार

सुनसरी । इटहरी उपमहानगरपालिका–१७ स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले आज इटहरी–१७ का शेलिस शेर्पाको घरबाट उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले जुवा खालबाट एक बुङ तास र नगद रु दुई लाख ३१ हजार १७० बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

पक्राउ पर्नेमा धादिङ ज्वालामुखी गाउँपालिका–२ का २७ वर्षीय नारायण श्रेष्ठ, सुनसरीको रामधुनी नगरपालिका–१ का ३६ वर्षीय प्रेम विक, सोही ठाउँका ४७ वर्षीय गौरीशङ्कर लुइँटेल, ४२ वर्षीय महेशलाल धामी र इटहरी उपमहानगरपालिका–१७ का ४३ वर्षीय लोकबन्धु कार्की रहेका छन्।

पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय पकलीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *