नाना पाटेकर : पोस्टर रंगाउने बालकदेखि पर्दाका ‘नाना’सम्म
काठमाडौं । पर्दामा नाना पाटेकर देखिएपछि धेरै कुरा भनिरहनुपर्दैनथ्यो। उनको अनुहार, आवाज र आँखाको भावले नै दृश्यको माहोल बदलिन्थ्यो।
उनी रिसाउँदा साँच्चिकै रिसाएजस्तो लाग्थ्यो। चिच्याउँदा अभिनय गरिरहेका होइनन्, मनभित्रको आक्रोश पोखिरहेका छन् जस्तो लाग्थ्यो।
‘क्रान्तिवीर’का संवाद हुन् वा ‘परिन्दा’को कठोरता, नानाको उपस्थितिले नै दृश्यलाई बलियो बनाउँथ्यो। तर यही कलाकार ‘वेलकम’मा उदय शेट्टी बनेर आउँदा दर्शक हाँस्न थाले। ‘अब तक छप्पन’मा प्रहरी अधिकारी बनेर मौन रहँदा उनको आँखाले धेरै कुरा बोल्यो। ‘नटसम्राट’मा वृद्ध रंगकर्मी बनेपछि त्यही अनुहारमा उमेर, एक्लोपन र पछुतो देखियो।
नानाको अभिनयको खासियत यही थियो। उनी एउटै ढाँचामा अडिएनन्।
उनको बिहिवार ७५ वर्षको उमेरमा उनको निधन भयो। गोवास्थित घरमा अचेत अवस्थामा भेटिएका उनलाई अस्पताल पुर्याइएको थियो। कार्डियाक अरेस्टका कारण उनको मृत्यु भएको जनाइएको छ।
उनको निधनसँगै भारतीय सिनेमाले एउटा चर्चित अभिनेता गुमाएको छ, जसले पाँच दशकभन्दा लामो समय पर्दामा अनेक रूप देखाए।
नानाको वास्तविक नाम विश्वनाथ पाटेकर थियो। महाराष्ट्रको मुरुड जञ्जिरामा १ जनवरी १९५१ मा जन्मिएका उनी सामान्य परिवारमा हुर्किए। घरको आर्थिक अवस्था राम्रो थिएन। किशोरावस्थामै फिल्मका पोस्टर रंगाउने काम गरे। मुम्बईका सडकमा टाँसिने पोस्टरमा रंग भर्दै उनले आफ्नो गुजारा चलाए।
पछि त्यही शहरमा उनको आफ्नै अनुहार फिल्मका पोस्टरमा देखिन थाल्यो।
अभिनयको सुरुवात भने फिल्मबाट भएको थिएन। रंगमञ्चबाट भएको थियो। सर जे. जे. इन्स्टिच्युट अफ एप्लाइड आर्टमा अध्ययन गरेपछि उनी नाटकतिर लागे। रंगमञ्चले उनलाई अभिनयको आधार दियो। संवाद कसरी बोल्ने, कहाँ रोकिने, आँखाले कसरी भाव दिने र मौनतालाई कसरी प्रयोग गर्ने भन्ने कुरा उनले त्यहीँ सिके।
सन् १९७८ मा ‘गमन’बाट फिल्मी यात्रा सुरु भयो। तर सफलता तत्काल आएन। लामो समय साना र सहायक भूमिका गर्दै बित्यो। ‘सलाम बम्बे!’पछि उनको परिचय फराकिलो भयो। त्यसपछि आएको ‘परिन्दा’ले भने उनलाई अलग उचाइमा पुर्यायो।
अन्ना सेठको भूमिकामा उनको अभिनय यति प्रभावशाली थियो कि खलनायकको भूमिकासमेत उनको पहिचान बन्यो।
१९९४ को ‘क्रान्तिवीर’ नानाको करियरको निर्णायक मोड बन्यो। अन्यायविरुद्ध उभिएको पात्र, चर्को आवाज र विद्रोही स्वभावलाई उनले यति स्वाभाविक बनाए कि फिल्मका संवाद दर्शकको स्मृतिमा बसे।
उत्कृष्ट अभिनेताका रूपमा राष्ट्रिय फिल्म पुरस्कार पाएपछि नाना मुख्यधाराका दर्शकमाझ झन् स्थापित भए।
तर उनले आफूलाई एउटै छविमा सीमित राखेनन्। ‘अग्निसाक्षी’मा गम्भीर भूमिका गरे। ‘खामोशी : द म्युजिकल’मा संवेदनशील पिता बने। ‘अब तक छप्पन’मा प्रहरी अधिकारीको भूमिकामा धेरै नबोली अभिनयको शक्ति देखाए।
त्यसपछि ‘वेलकम’ आयो। उदय शेट्टीको भूमिकाले नानाको अर्को रूप देखायो। अपराधी संसारको मान्छे भए पनि उसको व्यवहारले दर्शकलाई डराएन, हँसायो।
‘क्रान्तिवीर’मा आक्रोश बनेका नाना ‘वेलकम’मा हाँसोको कारण बने।
२०१६ को ‘नटसम्राट’मा उनी फेरि रंगमञ्चकै संसारमा फर्किए। अवकाशप्राप्त रंगकर्मीको एक्लोपन र पीडालाई उनले निकै गहिराइमा प्रस्तुत गरे। रंगमञ्चबाटै आएका नानाका लागि यो भूमिका अझै व्यक्तिगत देखिन्थ्यो।
नानाको जीवन अभिनयमा मात्र सीमित थिएन। अभिनेता मकरन्द अनासपुरेसँग मिलेर उनले ‘नाम फाउन्डेसन’ स्थापना गरे। महाराष्ट्रका किसान र खडेरी प्रभावित गाउँका लागि संस्थाले काम गर्यो। पानी संरक्षण र गाउँ विकासका अभियानमा उनी जोडिए।
तर निजी जीवन भने उनले सधैं चर्चाबाट टाढा राखे।
पत्नी नीलकान्ती पाटेकरसँग उनको विवाह भएको थियो। उनीहरूका दुई छोरा थिए, दुर्वासा र मल्हार।
दुर्वासाको सानै उमेरमा मृत्यु भयो। जन्मजात स्वास्थ्य समस्याका कारण करिब दुईदेखि अढाई वर्षमै उनलाई गुमाउनुपरेको थियो। यो घटनाले नानाको जीवनमा गहिरो चोट छाड्यो। पछि उनले छोराको मृत्युको पीडामा आफू अत्यधिक धूम्रपानतिर गएको बताएका थिए।
आफ्नो जीवनका यस्ता पीडा समस्याबारे उनी धेरै बोल्दैनथे।
पाँच दशकभन्दा लामो करियरमा नानाले नायक, खलनायक, प्रहरी, अपराधी, पिता र रंगकर्मी अनेक रूप लिए। तीनवटा राष्ट्रिय फिल्म पुरस्कार जिते। २०१३ मा पद्मश्री पाए।
तर नानालाई सम्झन पुरस्कारको सूची हेर्नैपर्दैन। कसैका लागि उनी ‘क्रान्तिवीर’ हुन्, कसैका लागि ‘परिन्दा’। कसैलाई ‘अब तक छप्पन’को प्रहरी याद आउँछ भने नयाँ पुस्ताका दर्शकका लागि उनी उदय शेट्टी हुन्।
सायद नाना पाटेकरको जीवनको सबैभन्दा रोचक पक्ष यही थियो। पर्दामा उनको आवाज चर्को थियो, तर निजी जीवनमा उनी मौन रहे। अनि आजदेखि उनि सदाका लागि नै मौन भए।
