त्रिविको बजेट ३० अर्ब ८७ करोड, ८ अर्बभन्दा बढी बजेट अपुग
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ। त्रिवि सिनेटबाट पारित उक्त बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ९.७७ प्रतिशतले बढी हो।
कुल बजेटमध्ये ४९.३८ प्रतिशत अर्थात् १५ अर्ब २४ करोड २७ लाख ५ हजार रुपैयाँ त्रिविको आन्तरिक स्रोतबाट जुटाउने प्रक्षेपण गरिएको छ। बाँकी ५०.६२ प्रतिशत अर्थात् १५ अर्ब ६२ करोड ८४ लाख ३ हजार रुपैयाँ नेपाल सरकारबाट प्राप्त हुने बजेटबाट व्यहोर्ने अनुमान गरिएको छ।
त्यस्तै, विनियोजित बजेटमध्ये ८६.१४ प्रतिशत साधारण सञ्चालन खर्च र १३.८६ प्रतिशत पुँजीगत खर्चका लागि छुट्याइएको छ। प्राध्यापक तथा कर्मचारीको प्रविधिमैत्री क्षमता विकास र दक्षता अभिवृद्धिका लागि तालिम, सेमिनार तथा गोष्ठी सञ्चालन गर्न २१ करोड ७७ लाख ८९ हजार रुपैयाँ विनियोजन गरिएको छ।
तर, नेपाल सरकारबाट चालु आर्थिक वर्षका लागि प्राप्त हुने अनुदान अघिल्लो वर्षको तुलनामा ४ अर्ब ९० करोड रुपैयाँले घटेपछि त्रिवि वित्तीय दबाबमा परेको छ। राष्ट्रसेवक शिक्षक तथा कर्मचारीको १० प्रतिशत तलब वृद्धि र १० प्रतिशत प्रोत्साहन भत्ता व्यवस्थापन गर्नुपर्ने भएकाले विश्वविद्यालयको बजेटमा थप चाप परेको छ।
त्रिविका अनुसार विभिन्न अनिवार्य दायित्वसमेत व्यवस्थापन गर्न कुल ८ अर्ब ३१ करोड ७७ लाख ४७ हजार रुपैयाँ बजेट अपुग हुने देखिएको छ।
साथै, उक्त अपुग रकम उपलब्ध नभए अनिवार्य दायित्वअन्तर्गतका खर्चसमेत धान्न नसकिने अवस्था आउन सक्ने त्रिविले जनाएको छ। आवश्यक रकमको व्यवस्था गरिदिन त्रिविले कुलपति एवं प्रधानमन्त्रीसमक्ष आग्रह गरेको छ।
