क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ : मन्त्री पोखरेल
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिविको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेन्डर, सुशासन र प्रविधिको अधिकतम प्रयोगलाई अनिवार्य बनाउनुपर्ने बताएका छन्।
कीर्तिपुरस्थित त्रिभुवन स्मृति भवनमा आयोजित त्रिभुवन विश्वविद्यालय सभाको ६७औँ वार्षिक दिवसको बैठकमा अध्यक्षता गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयलाई समयसापेक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन आवश्यक रहेको बताए।
उनले प्रवेश परीक्षा, विद्यार्थी भर्ना, अध्ययन-अध्यापन, परीक्षा सञ्चालनदेखि नतिजा प्रकाशन, मार्कसिट, ट्रान्सक्रिप्ट र प्रमाणपत्र वितरणसम्मका सबै प्रक्रिया निर्धारित समयतालिकाअनुसार सञ्चालन गर्न विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिए।
शैक्षिक क्यालेन्डर प्रभावित भए त्यसको स्पष्ट कारण र सुधारको समयसीमा समेत सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ। विद्यार्थीलाई समयमै सेवा उपलब्ध गराउन ठोस कार्ययोजना बनाएर अघि बढ्नुपर्ने उनले बताए।
मन्त्री पोखरेलले परीक्षा प्रणालीमा समेत सुधार आवश्यक रहेको औँल्याउँदै विद्यार्थीले परीक्षामा कति लेख्यो भन्नेभन्दा उसले कति सिक्यो भन्ने विषयलाई प्राथमिकता दिनुपर्ने बताए।
रटेर सिकेको ज्ञानभन्दा समस्या समाधान गर्ने क्षमता, सिर्जनशीलता, अनुसन्धान क्षमता र व्यावहारिक दक्षता विकास गर्ने गरी अध्यापन तथा अनुसन्धानमा जोड दिन उनले प्राध्यापकहरूलाई आग्रह गरे।
विश्वविद्यालयले मुलुकका सामाजिक, आर्थिक, सांस्कृतिक, वातावरणीय तथा प्राविधिक समस्याको समाधान खोज्ने अनुसन्धानलाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए। ज्ञान उत्पादन र त्यसको प्रयोगबीचको दूरी घटाउन सके विश्वविद्यालयको अनुसन्धानले राष्ट्रिय विकासमा प्रभावकारी योगदान पुर्याउने उनको भनाइ छ।
मन्त्री पोखरेलले विश्वविद्यालय सुधारको केन्द्रमा विद्यार्थीलाई राख्नुपर्ने बताए। विद्यार्थीका गुनासा, आवश्यकता र आकांक्षा सुन्ने तथा समाधान गर्ने प्रभावकारी संयन्त्र विकास गर्नुपर्ने उनले उल्लेख गरे।
कृत्रिम बुद्धिमत्ता (एआई) लगायत नयाँ प्रविधिलाई चुनौतीका रूपमा मात्र नहेरी ज्ञान र नवप्रवर्तनका लागि अवसरका रूपमा प्रयोग गर्नुपर्नेमा पनि उनले जोड दिए। साथै, प्रविधिको जिम्मेवार र नैतिक प्रयोगका लागि आवश्यक नीति तथा क्षमता विकास गर्नुपर्ने उनको भनाइ छ।
