`

रवि र बालेन शाहप्रति मिराज ढुङ्गानाको टिप्पणी, फेरि विद्रोह हुन सक्ने दिए चेतावनी

Nepal One HD २३ असोज २०८३ १८:४०
बिशेष

काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुङ्गानाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन शाहलाई राजनीतिक विकल्पका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिप्रति प्रश्न उठाउँदै मुलुकमा पुनः विद्रोह हुन सक्ने चेतावनी दिएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ढुङ्गानाले राजनीतिक नेतृत्वमा नयाँ अनुहार देखिँदैमा देशको अवस्था परिवर्तन हुने ग्यारेन्टी नहुने टिप्पणी गरेका हुन्। उनका अनुसार, राजनीतिक व्यक्तिहरूको अनुहार फेरिए पनि उनीहरूको आचरण, कार्यशैली र प्रवृत्तिमा परिवर्तन नआए त्यसले जनताको अपेक्षा पूरा गर्न नसक्ने अवस्था रहन्छ।

उनले नेपाली कांग्रेसलगायत पुराना राजनीतिक दलमा केही अनुहार परिवर्तन हुँदैमा राजनीतिक सुधार भएको मान्न नसकिने तर्क गरेका छन्। त्यस्तै, विगत ३५ वर्षदेखि बिग्रिएको भनिएको राजनीतिक तथा शासकीय अवस्थाको समाधान रवि लामिछाने र बालेन शाह तीन दिनमै मिलेर निकाल्न सक्छन् भन्ने दाबीलाई सहजै विश्वास गर्न नसकिने उनको भनाइ छ।

ढुङ्गानाले फेसबुकमा लेखेका छन् – ‘५ जना अनुहार फेरिए, काङ्ग्रेस फेरियो रे।३५ वर्ष बिगारे रे, ३ दिनमा रवि र बालेन मिलेर त्यस ३५ वर्षको समाधान निकाले रे, पत्याइदिनु पर्ने रे।
ध्यान दिएर हेर्नुभयो भने यी दुवै उस्तै खालका ‘नयाँ’ हुन्, राजनीतिक आचरण त्यही, लालिपोतो नयाँ। एउटै डालामा राख्दा फरक पर्दैन।२३ र २४ को विद्रोहले चरम नेपाली निराशाको समाधान र राजनीतिक पुनर्गठन खोजेको थियो, जुन रिकन्डिसन गरेका पुराना दलले सक्दैनन्।यिनैलाई विकल्प मान्ने हो भने २३ र २४ को घटना निश्चित नै दोहोरिन्छ, यो कुरा लेखेर राख्दा हुन्छ।त्यसैले चरम नेपाली निराशाको समाधान र राजनीतिक पुनर्गठनका लागि तेस्रो ध्रुव (Third Pole) को आवश्यकता अपरिहार्य छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *