शासकीय स्वरुप परिवर्तन गर्न प्रधानमन्त्रीलाई कमल थापाको सुझाव
जनकपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष कमल थापाले मुलुकमा असफल भइसकेको संघीयतासहितको शासकीय स्वरुपलाई परिवर्तन गर्न प्रधानमन्त्री बालेन्द्र साह (बालेन) लाई आग्रह गरेका छन् ।
जनकपुरधाममा शुक्रबार राप्रपा धनुषाद्वारा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका अध्यक्ष थापाले प्रधानमन्त्री साहलाई विगतका नेताहरुले संघीयतासहितको धर्मनिरपेक्षता चलाउन नसकेर असफल भइसकेकाले देशको शासकीय स्वरुपलाई परिवर्तन गर्न आग्रह गरे ।
उनले असफल भइसकेको शासकीय स्वरुपलाई लादेर देशलाई हित नहुने भन्दै राजादेखि सबै नेता तथा पार्टी अटाउने किसिमको राष्ट्रिय मेलमिलापका लागि आह्वान गर्न प्रधानमन्त्रीसँग माग गरे ।
अध्यक्ष थापाले भने,‘चाहेर वा नचाहेर पनि बालेन साहले असफल भइसकेको देशको शासकीय संरचनासहितको स्वरुपलाई नै निरन्तरता दिनु गलत हो । विगतमा नेताहरुले देशका लागि जे नियति भोग्नु परेको थियो, त्यही नियति अहिलेका नेताले पनि भोग्नु नपरोस् भन्ने नचाहेकाले प्रधानमन्त्री बालेनलाई आँट गर्दै राजादेखि सबै नेता तथा पार्टी अटाउन सक्नेगरी राष्ट्रिय मेलमिलाप कायम गर्नका लागि आह्वान गर्न आग्रह गर्छु ।’
उनले आम नेपाली जनताले प्रधानमन्त्री बालेनलाई साथ दिएकाले आँट गर्दै इतिहासमा अजरअमर हुनका लागि राजादेखि सबै नेता तथा सबै पार्टी अटाउने खालको रोजाइँ रोजेर अजर अमर हुन आग्रह गरे ।
उनले विगतमा प्रचण्ड र ओलीले गलती गरेकै कारण पुनः त्यहीँ नियति नदोहोर्याउनका लागि सुझाए ।उनले सनातन हिन्दू राष्ट्र स्थापना गर्न सफल भएकाले संविधानमा संघीय धर्मनिरपेक्ष रहेपनि राजतन्त्रसहित हिन्दू राष्ट्र नै मुलुकमा अझै पनि कायम रहेको दाबी गरे ।
उनले अहिले भ्रष्टाचारको महारोगबाट देश आक्रान्त रहेको र देशभित्र सामान्य रोजगारी नपाउने हुनाले यहाँका युवाहरु मलेसियाको जंगल र अरबको मरभूमिमा बाध्य भएर काम गर्न जानुपर्ने बाध्यता अन्त्य हुनुपर्ने माग गरे ।उनले राजतन्त्र पाखा लगाएपछि देश अभिभावकविहीन भएको भन्दै मुलुकमा विदेश हस्तक्षेप र चलखेललाई रोक्नुपर्ने माग गरे ।
