१७ वर्ष जेल बसेका मोहनचन्द्र अधिकारीलाई भनियो ‘नेपाली नेल्शन मण्डेला’
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहलाई ‘किरा-फट्याङ्ग्रा नसम्झिन’ चेतावनी दिँदा नजिकै उभिएका एक व्यक्तितर्फ धेरैको ध्यान गएको थियो। ती व्यक्ति थिए नेपाली कम्युनिस्ट आन्दोलनका पुराना नेता मोहनचन्द्र अधिकारी, जसलाई सम्मानपूर्वक ‘नेपाली नेल्शन मण्डेला’ भनेर चिनिन्छ।
निरंकुश पञ्चायती शासनविरुद्धको आन्दोलनमा सक्रिय अधिकारीले आफ्नो जीवनका १७ वर्ष जेलमा बिताएका थिए। राजनीतिक आस्था र परिवर्तनको पक्षमा निरन्तर संघर्ष गरेका उनी नेपाली कम्युनिस्ट आन्दोलनका त्यागी तथा स्वच्छ छवि भएका नेताका रूपमा परिचित छन्।
अधिकारीलाई ‘नेपाली नेल्शन मण्डेला’ भन्ने उपाधि नेपाली कांग्रेसका तत्कालीन सर्वोच्च नेता गणेशमान सिंहले दिएका थिए। २०४६ सालको जनआन्दोलनबाट पञ्चायती व्यवस्था अन्त्य भएपछि सबैभन्दा लामो समय कारागारमा बसेर निरंकुशताविरुद्ध संघर्ष गरेको भन्दै गणेशमानले उनलाई उक्त उपनाम दिएका थिए।
त्यसपछि भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पनि अधिकारीको त्याग र संघर्षको प्रशंसा गर्दै उनलाई ‘एसियाका नेल्शन मण्डेला’का रूपमा चित्रण गरेका थिए।
दक्षिण अफ्रिकाका रंगभेदी शासकविरुद्ध संघर्ष गरेका नेल्शन मण्डेला २७ वर्ष जेल बसेका थिए। लामो राजनीतिक संघर्ष र त्यागपछि उनी दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्ने ऐतिहासिक आन्दोलनका प्रमुख प्रतीक बने। पछि उनी दक्षिण अफ्रिकाका राष्ट्रपति समेत बने।
नेपालमा मोहनचन्द्र अधिकारीको संघर्षलाई पनि निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक प्रतिरोधसँग जोडेर हेरिन्छ। फरक राजनीतिक परिवेश र इतिहास भए पनि लामो जेलजीवन, राजनीतिक प्रतिबद्धता र परिवर्तनप्रतिको अडानका कारण उनलाई मण्डेलासँग तुलना गरिएको हो।
