`

महान्यायाधिवक्ता भन्छन् – आईजीपीबाट हटाइएको होइन, बढुवा गरिएको हो

Nepal One HD ९ मंसिर २०८३ १५:२८
राजनीति

काठमाडौं। महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाइएको नभई बढुवा गरेर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाइएको दाबी गरेका छन् ।

कार्कीले आफूलाई आईजीपीबाट हटाएर सुरक्षा सल्लाहकार बनाइएको भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिटको विपक्षमा बहस गर्दै कँडेलले सरकारको निर्णयको बचाउ गरेका हुन् ।

सरकारलाई विशेष सुरक्षा सल्लाहकार आवश्यक परेकाले असल नियतले कार्कीलाई उक्त जिम्मेवारी दिइएको उनको जिकिर थियो । उनले व्यङ्ग्यात्मक शैलीमा भने, ‘बढुवा भएको खुसीयालीमा लड्डु बाँड्नुपर्नेमा मुद्दा लिएर अदालत आउनुपर्ने ?’

कँडेलले मन्त्रिपरिषद्को निर्णयलाई चुनौती दिँदा निर्णय गर्ने निकायलाई नै विपक्षी नबनाइएको भन्दै रिट प्रथम दृष्टिमै खारेज हुनुपर्ने माग गरे ।

बहसका क्रममा न्यायाधीश नृपध्वज निरौलाले सरकारको निर्णय आत्मगत हो कि वस्तुगत आधारमा गरिएको हो भन्दै प्रश्न गरेका थिए ।

त्यस्तै, कार्कीलाई हटाइएको नभई सुरक्षा सल्लाहकारमा खटाइएको भन्ने सरकारी तर्कमाथि न्यायाधीश निरौलाले अर्को प्रश्न गरे, ‘खटाइएको मात्र हो भने आईजीपी पद कसरी रिक्त भयो ?’

जवाफमा कँडेलले कार्कीलाई बढुवा गरी सुरक्षा सल्लाहकारमा पठाएपछि रिक्त भएको आईजीपी पदमा डा. मनोजकुमार केसीलाई जिम्मेवारी दिइएको बताए ।

महान्यायाधिवक्ता कँडेलले कार्कीको रिटमा अन्तरिम आदेश जारी गर्न नहुने भन्दै तीनवटा आधार प्रस्तुत गरेका छन् ।

मन्त्रिपरिषद्को निर्णयविरुद्ध रिट दायर गर्दा निर्णय गर्ने निकायलाई नै विपक्षी बनाइएको छैन ।

सरकारको निर्णय कार्यान्वयन भइसकेकाले त्यसलाई रोक्ने गरी अन्तरिम आदेश जारी गर्न मिल्दैन । यसका लागि उनले पूर्वएआईजी विश्वराज पोखरेलको मुद्दाको नजिर उल्लेख गरे ।

सरकारको निर्णय कार्यान्वयन र शान्ति सुरक्षा कायम राख्न पनि तत्काल अन्तरिम आदेश जारी गर्नु उपयुक्त हुँदैन ।

सरकारको निर्णय असल नियतले गरिएको र कार्यान्वयनसमेत भइसकेको भन्दै कँडेलले कार्कीको रिटमा अन्तरिम आदेश जारी नगर्न सर्वोच्च अदालतसमक्ष माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *