गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिक मान्यता
काठमाडौं । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र पार्टी विधानलाई आधिकारिक रूपमा अद्यावधिक गरेको छ ।
मंगलबार बसेको आयोगको बैठकले थापा नेतृत्वको नयाँ कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कांग्रेसको नयाँ नेतृत्वसम्बन्धी विवरण अद्यावधिक गर्ने निर्णय भएको पुष्टि गरेका छन् ।
नेपाली कांग्रेसले असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न आयोगमा निवेदन दिएको थियो । निवेदनसँगै आवश्यक कागजातसमेत पेस गरिएको थियो ।
महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो । आयोगले विवरण अद्यावधिक गरेसँगै थापा नेतृत्वको कार्यसमितिले निर्वाचन आयोगको अभिलेखमा आधिकारिकता पाएको छ ।
