मन्त्रीलाई बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेपछि ठाकुरलाई निलम्बन गरेको हो : मन्त्री किराती


काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रीलाई बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेपछि त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कारवाही गरेको बताएका छन्।
शुक्रबार काठमाडौंमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले थाई स्माइल एयरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौं घुस मागेपछि ठाकुरलाई कारवाही गरेको बताएका हुन्।
उनले आफूले कसैको पनि एकपैसा नखाने, अब यस्ता अन्य घुस प्रकरणहरू खुल्दै जाने र कारवाही गर्ने चेतावनी दिए।
घुस मागेको अडियो प्राप्त भएपछि घटनाको जाँचबुझका लागि मन्त्रिस्तरीय निर्णयबाट ठाकुरलाई निलम्बन गरिएको हो।
मन्त्री किरातीले मन्त्रीले कहिले पैसा माग्यो भन्ने खुल्न पर्ने र पैसा मागेको पाइए मन्त्रीलाई पनि कारवाही हुनुपर्ने जिकिर गर्नुभयो।
उनले २० लाख पर्यटक ल्याउने कार्ययोजना ल्याउन पर्यटन बोर्डलाई निर्देशन दिए। पर्यटन प्रवर्द्धनका लागि चलाइएको अभियानअन्तर्गत कति पर्यटक भित्रियो भन्ने यकिन तथ्यांक बोर्डले दिनुपर्ने उनको भनाइ छ।
उनले कर्मचारीलाई हेरफेर गरेर आतंकित नमच्चाउने तर कर्मचारहरुको साथ र काम चाहिने स्पष्ट पारे।
मन्त्री किरातीले पर्यटन क्षेत्रको समस्यालाई सम्बोधन गर्नका लागि मन्त्रालयले एकीकृत कार्ययोजना बनाएको बताए।