संसदको बनावट अस्थिरता निम्त्याउने खालको छ – ओली


काठमाडौं – प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको बनावट अस्थिरता निम्त्याउने खालको रहेको बताएका छन् । काठमाडौंमा मंगलबारबाट सुरु भएको अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । देश बर्बाद बनाउन भित्र र बाहिरका शक्ति क्रियाशील रहेको उनले बताए ।
पाँच दलीय गठबन्धन भत्काइएकोमा खुसी नहुन कार्यकर्तालाई आग्रह गरेका उनले संसदको बनावट अस्थिरता निम्त्याउने खालको रहेकाले अहिलेको अवस्था परिवर्तन हुन सक्ने संकेत व्यक्त गरे ।
उनले भने ‘देश बनाउने भनेको कुरो, सोझो रेखामा राजनीति जाँदैन । हामीले अनेकौँ उत्तरचढाप देखेका छौँ, फेरि पनि आउँछन् उत्तरचढाप आउँछ,’ अध्यक्ष ओलीले भने, ‘अहिले साथीहरु काफी प्रसन्न भएको देख्छु । हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ, यो सफलताको कुरा हो। कथंकदाचित यो अवस्था फेरियो भने, संसदको बनावट नै अस्थिरताको कारक हुनेखालको बनावट छ । संसदमा हाम्रो बहुमत छैन । अनेक प्रकारका, भित्रका, बाहिरका शक्तिहरु यो देश बर्बाद पार्न क्रियाशील छन् ।’
ओलीले पाँच दलीय गठबन्धन तोडेर नयाँ सरकार बनाउनु सफलता भएको बताए ।पाँच दलीय गठबन्धन तोडेर प्रचण्डको नेतृत्वमा सरकार बनाएका उनले सरकार सञ्चालनका लागि आफू नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्रसमेत बनाएका छन् ।
तर, अहिलेको राजनीतिक समीकरण परिवर्तन पनि हुन सक्ने भन्दै उनले आफ्ना नेता तथा कार्यकर्तालाई सजग पनि बनाएका छन् ।