`

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भएको भेटवार्ता निष्कर्षविहीन

Nepal One HD १० फागुन २०७९ १३:५६
प्रमुख खबर

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको भेटवार्ता निष्कर्षविहीन भएको छ। बुधबार बिहान माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र ओलीबीच बालुवाटारमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएको हो। तर प्रचण्ड र ओली आ-आफ्नो अडानमा रहँदा छलफल निष्कर्षविहीन बनेको छ।

राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारको विषयमा प्रचण्ड र ओलीबीच विभिन्न चरणमा छलफल भएपनि ठोस निर्णय हुन सकेको छैन। ओलीले पूर्वसहमति अनुसार नै एमालेले बनाएको राष्ट्रपति उम्मेदवार नै सत्ता साझेदार दलको उम्मेदवार हुनुपर्ने धारणा राख्नुभएकाे छ । सत्ता साझेदार राप्रपा र रास्वपाले समेत पूर्वसहमति अनुसार एमालेको उम्मेदवार राष्ट्रपति बनाउनुपर्ने तर्क प्रचण्डसमक्ष गर्दै आएका छन्।

उता माओवादी केन्द्र भने पुस १० गते भएको सहमती उलंघन गर्ने तरखरमा देखिएको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकले ‘स्वार्थ मिल्ने’सँग सहकार्य गर्ने निर्णय गर्दै त्यसको जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको छ।

पछिल्लो समयमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएपछि उनी कांग्रेसतिर ढल्किइरहेका छन्। राष्ट्रपति निर्वाचनलाई लिएर नेपाली कांग्रेसले सत्ता गठबन्धनलाई भत्काएर एमालेलाई एक्ल्याउने प्रयास गरिरहेको छ। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ। आज मतदाता नामावली प्रकाशित भइरहेको छ। राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको मतभार निर्णायक छ।


प्रतिक्रिया