हिंसा दिवसलाई जनयुद्ध भनेर बिदा दिनु दुःखद :अध्यक्ष ओली


काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा असन्तुष्टि जनाउनुभएको छ । अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद भएको बताउनुभयो।
बिहीबार आफ्नो जन्मदिनको अवसर पारेर बालकोटस्थित निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले सरकारको यो मानसिकताबाट मुलुकमा अझै पनि हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको बताउनुभयो ।
उहाँले हिंसाप्रतिको पुरानो लगाव सम्झिनुको कुनै पनि अर्थ नरहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘त्यो हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरीदेखि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्नेसमेत दुःखद् निर्णय गर्यो। त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ। जुन कुरा चाँही सही होइन। सरकारले किन त्यो गर्यो रु आकास्मिक रुपमा त्यो किन गर्नु पर्यो रु आफैँले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आईसकेपछि किन फेरी त्यसको महिमामण्डन गर्न पर्यो रु त्यो मैले पनि बुझेको छैन।’
सरकारले फागुन १ गतेलाई राष्ट्रिय दिवस मनाउने निर्णय गरेर सार्वजनिक बिदा दिएको थियो।