सत्ता गठबन्धनमा चरम अविश्वास
काठमाडौँ । प्रमुख राजनीतिक दलहरू बिहीबार रातिसम्म नयाँ राष्ट्रपति निर्वाचनमा कसरी अघि बढ्ने भन्ने ठोस समझदारीमा पुग्न सकेका छैनन्।एमालेको समर्थनमा पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै बनेको नयाँ सत्ता गठबन्धनमा अविश्वास चुलिए पनि अर्को समीकरण बन्न सकेको छैन।
नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच बुधबार साँझ भएको भेटमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनअघिकै पाँच दलीय गठबन्धन ब्युँताउने समझदारी बनेको दाबी गरिएको थियो।अन्य दलहरूसँगको छलफलपछि बिहीबार साँझ बस्ने पाँच दलको बैठकमा नयाँ सहमति गर्ने नेताहरूले बताएका थिए। तर बिहीबार पाँच दलको बैठक बस्न सकेन।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले बिहीबार नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सँग दुईपक्षीय र बहुपक्षीय छलफल गरे।साँझ कांग्रेस र एमालेबाहेक माओवादी केन्द्र, नेकपा एस र जसपाको बैठक बस्यो। बैठकले कांग्रेस र एमालेसँग कुरा गर्ने जिम्मेवारी प्रधानमन्त्री दाहाललाई दिएको छ।
दाहालले शुक्रबार बिहान कांग्रेसका नेता र दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्नेछन्। पछिल्लो समय दाहाललाई भेट्न बालुवाटार धाउँदाधाउँदै ओली हैरान भएका छन्।दाहालको दोहोरो चरित्रका कारण पनि ओली रुष्ट छन्। तर ओली माओवादी केन्द्र पुस १० गतेको सहमति छाडेर कांग्रेससँग मिल्न नजानेमा ढुक्क छन्।
उनले बिहीबार आयोजित एक कार्यक्रममा यस्तै आशयको अभिव्यक्ति दिए। माओवादी केन्द्र, जसपा र नेकपा एसले शुक्रबार दाहालले ओलीसँगको छलफल गरेपछि कांग्रेससहित चार दलको बैठक बस्ने समझदारी गरेका छन्। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।
