प्रदेश १ को नाममा नेकपा एकीकृत समाजवादी र जसपाको छुट्टै प्रस्ताव, किरात लिम्बुवान सगरमाथा राख्नु पर्ने


विराटनगर – प्रदेश १ को नामकरणका लागि नेकपा एकीकृत समाजवादी र जसपाले छुट्टै प्रस्ताव दर्ता गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरू मिलेर किरात लिम्बुवान सगरमाथा नामसहित प्रस्ताव दर्ता गरेका हुन् ।
जनता समाजवादी पार्टीले पनि एकीकृत समाजवादीकै प्रस्तावमा समर्थन जनाएको छ। प्रदेश सभामा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्। यसअघि प्रदेशको नाम कोशी राख्न एमाले र कांग्रेस सांसदहरूले प्रस्ताव दर्ता गरेका थिए।
एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर कोशी नाम राख्ने प्रस्ताव संसदमा दर्ता भएको छ।
अर्को सत्तारूढ दल माओवादी केन्द्रले पनि उक्त प्रस्तावमा फरक मत नराख्ने बताएको छ। सत्ताको नेतृत्व गरिरहेको एमाले र विपक्षी कांग्रेस एकमत भएर प्रदेशको नाम राख्न लागेपछि माओवादी केन्द्रले पनि यसमा अवरोध नगर्ने, फरक मत नराख्ने वचन दिएको कांग्रेस नेताहरूले बताएका छन्। माओवादी नेताहरूले आफूले नभई जनताले नै पहिचानको मुद्दा छोडेको बताएका छन्।