`

एमाले मिसन ग्रासरुट : आधारभूत काम चैत २० गतेसम्म सम्पन्न गर्न परिपत्र

Nepal One HD ७ चैत २०७९ १२:१६
राजनीति

काठमाडौँ – नेकपा (एमाले) ले मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) सुरु गरेको एकमहिना पूरा भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले फागुन ५ गते शुभारम्भ गर्नुभएको दुई महिने अभियानमा केन्द्रीय नेतादेखि प्रदेश र जिल्ला तहका नेताहरू पालिका तहका नेताकार्यकर्ताका साथ स्थानीय तहमा पार्टी काममा खटिनुभएको छ । 

मिसन ग्रासरुटका लागि पार्टीले निर्धारण गरेका निश्चित कार्यहरू सम्पादन धमाधम भइरहेका र ती काम यही चैत २० गतेसम्म सकेर अभियानको समीक्षामा लाग्न पार्टी केन्द्रबाट निर्देशन जारी गरिएको छ । 

अभियानको अनुगमनको जिम्मेवारीमा रहनुभएका पार्टीका उपाध्यक्ष, महासचिव, उपमहासचिव तथा सचिवहरूको उच्चस्तरीय बैठकले मिसन ग्रासरुटको संक्षिप्त समीक्षा गर्दै बाँकी अवधिका लागि कामको तालिका निर्धारण गरेको छ । 

सोही अनुसार महासचिव शंकर पोखरेलले मिसन ग्रासरुटमा खटिरहनुभएका नेताहरूलाई कार्यसम्पादन गर्न निर्देशन जारी गर्नुभएको छ ।

आमरूपमा अभियानअन्तर्गत गर्नुपर्ने आधारभूत काम चैत २० सम्म सम्पन्न गर्न र पालिका तहमा चैत २५ गतेसम्म कामको समीक्षा गर्न भनिएको छ । 

त्यसअघि सबै प्रदेशसँग प्रदेश कमिटी, जिल्ला कमिटी र पालिका कमिटीका अध्यक्षको सहभागिता रहने गरी पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल बैठक हुने पार्टीका कार्यालय सचिव डा। भीष्म अधिकारीले बताउनुभयो । 

प्रदेश कमिटीलाई मिसन ग्रासरुटको समीक्षा प्रतिवेदन तयार गर्न दुई दिने तालिका प्रस्ताव गर्दै समीक्षा बैठकको प्रमुख आतिथ्यता अभियानको अनुगमनको जिम्मेवारीमा रहनुभएका उपाध्यक्ष र व्यवस्थापनको संयोजन पार्टीका सचिवले गर्नुहुने भएको छ । 

अभियानमा खटिनुभएका सबै केन्द्रीय प्रतिनिधिहरूको सहभागिता रहने समीक्षा बैठकमा  पार्टीका महासचिव र एकजना उपमहासचिवको उपस्थिति रहने भएको छ । 

प्रदेशमा समीक्षा बैठकका लागि पार्टी केन्द्रले प्रस्ताव गरे अनुसार सुदूरपश्चिम प्रदेशमा आगामी  वैशाख २ र ३ गते,   कर्णाली प्रदेशमा वैशाख ४ र ५ गते, लुम्बिनी प्रदेशमा वैशाख ६ र ७ गते, बागमती प्रदेशमा वैशाख १० र ११ गते,    गण्डकी प्रदेशमा वैशाख १२ र १३ गते, मधेस प्रदेशमा वैशाख १४ र १५ गते समीक्षा बैठक बस्ने छन् । वैशाख ९ गते पार्टी स्थापना दिवस भएकाले सोही अनुसार पार्टी स्थापना दिवस  कार्यक्रम आयोजना गरिने भएको छ । 


प्रतिक्रिया