जनसरोकारका विषय पहिचान गर्न स्थानीय कमिटीलाई एमालेको निर्देशन

काठमाडौं – नेकपा (एमाले) ले जनसरोकारको विषय पहिचान गर्न पार्टीका स्थानीय कमिटीहरूलाई निर्देशन दिएको छ।
एमालेका उपमहासचिव विष्णु रिमालले जनसरोकारका विषय पहिचान गर्न पार्टीका सबै पालिका स्तरीय कमिटीहरुलाई निर्देशन दिइएको बताउनु भयो।
एमाले उपत्यका विशेष प्रदेश कमिटीले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा आयोजना गरेको ‘अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण’ कार्यक्रम बोल्दै उहाँले चैत्रको २० गतदेखि २५ गतेसम्म ५ दिन पालिकास्तरका जनसरोकारको विषयमा रिर्पोटिङका लागि पालिकास्तरीय कमिटीहरुलाई समय तोकिएको पनि स्मरण गराउनु भयो । त्यसैगरी २५ गतेदेखि ३० गतेसम्म जिल्लाले आफ्नो सो विषयको रिर्पोट बनाउनुपर्ने उपमहासचिव रिमालको भनाई थियो।
उहाँले भन्नुभयो, ‘जनसरोकारको विषयको पहिचान गर भनेर भनेका छौं। यो चाहिं ७५३ वटै स्थानीय तहबाट हुनु पर्यो। ती कमिटीहरुबाट हामीले सुझाव मागेका छौं। जनसरोकारको पहिचान भन्नेमा हामीले सो क्षेत्रको पहिचान गर्नु पर्यो। तपाईहरु जुनजुन पेशा र व्यवसायमा हुनुहुन्छ। त्यो पेशा र व्यवसायको पहिचान पनि त्यसमा राख्नु पर्यो। भौतिक पूर्वाधारको क्षेत्रमा के छ? किसानहरुले भोगिरहेका समस्या के छन ? पार्टीले आउने यो महिनाको २० गतेबाट २५ गतेसम्म हामी पालिका तहको रिर्पोटिङ तयार गर्नेछ यही विषयमा।’