`

समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल

Nepal One HD ११ चैत २०७९ १४:४२
प्रमुख खबर

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक क्षेत्रमा महिला सहभागिता हुँदा समतामूलक समाज निर्माण गर्न सहज हुने बताउनुभएको छ ।

शनिबार काठमाडौँमा नेपाल उद्योग परिसङ्घ महिला नेतृत्व मञ्चको आयोजनामा सुरु भएको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व शिखर सम्मेलन–२३’ को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक सेवालगायत हरेक क्षेत्रमा महिला सहभागिता हुँदा समतामूलक समाज निर्माण गर्न सहज हुने बताउनुभएको हो । महिलालाई राजनीतिक नेतृत्वमा सहभागी गराई नीति निर्माण तहमा पनि समान प्रतिनिधित्व आवश्यक रहेको उहाँले बताउनुभयो ।

त्यस्तै उहाँले लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले संविधानले नै सरकारका विभिन्न निकायमा निश्चित प्रतिशत महिला सहभागिता अनिवार्य गरेकाले उनीहरूको सशक्तिकरणका लागि पर्याप्त बजेट र स्रोत विनियोजन गरेको उल्लेख गर्नुभयो । लैङ्गिक असमानता हुँदा नेपालले दिगो विकासका लक्ष्य हासिल गर्न नसक्ने भएकाले यसप्रति सरकारको गम्भीरताका साथ ध्यान पुगेको उहाँको भनाइ छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा महिला सशक्तीकरण तथा नेतृत्व विकास र उद्यमशीलतामार्फत अर्थतन्त्रमा महिलाको योगदानलगायत विषय प्राथमिकताका साथ उठाइने आयोजकले जनाएको छ ।


प्रतिक्रिया