`

मंसिर ४ मा भोट हालेर भारत गएकाहरु विशुपर्व मनाउन घर फर्किदाँ भीरमै अस्ताए

Nepal One HD २९ चैत २०७९ १२:४६
समाचार

बैतडी । मंगलबार राती १२ बजेको थियो । बझाङ्गको केदारस्यूँ गाउँपालिका–५ बाझँका ५जना झौलेक जंगलमा आगो तापेर बसिरहेका थिए । उनिहरु भारतबाट फर्किदाँ भएको जिप दुर्घटनामा हाम फालेर बाचेँका थिए ।

नजिकै उनिहरुका ६ आफन्तको शव रगतले लतपतिएको अस्तव्यस्त अवस्थामा देखिन्थ्यो । मृतकका सरीरका अंगहरु छरिएका थिए । मृतकको मोबाइलमा फोनको घण्टी बजिरहेको थियो । तर कस्ले फोन उठाओस ।

मङ्गलबार झुलाघाटबाट बझाङ्गको बाग्थला हिडेको जीप पाटन नगरपालिका–८ झौलेकमा दुर्घटना हुदाँ ५ जना हाम फालेर बाँचेका हुन् भने, ६ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए ।

दुर्घटनाबाट बाचेँका जंगी बोहराले भन्नुभयो, “हामी गत मंसिरको ४गते चुनावमा भोट हालेर ५गते भारत गएका थियौँ । त्यसदिन पनी बाटोमा प्रहरी बोकेको जीप दुर्घटना भएर ४ प्रहरीले ज्यान गुमाएको देखेका थियौँ । आज फर्किदा हाम्रा ६ जनाले अकालमै ज्यान गुमाएका छन् ।”

मृतक सबैजना एकै गाउँका व्यक्ति रहेका छन् । उनिहरु २ परिवारका मान्छे रहेको बोहराको भनाई छ । “मृत्यु हुनेमा मेरो परिवारका र मेरो बुवाको मामाको परिवारका व्यक्तिहरु छन् । हामी गाडी रिजर्भ गरेर ल्याएका हौँ । खोड्पेमा खाना खायौँ । मैले त त्यतै बसौँ भनेको थिएँ । गाडी चालकले मानेन । ठिकैछ भनेर आएका थियौँ यहाँ पुगेर यस्तो हुन लेखिएको रैछ ।” बोहराले भन्नुभयो ।

भण्डारी ट्राभल्सको से १ ज ७६४ नम्बरको जीप मंगलबार राती ११बजे दुर्घटना भएको हो । उक्त जीप दुर्घटना हुनु अगाडी अत्याधिक लोड बोकेर बझाङ्ग हिडेको थियो । ट्राफिक भएको ठाउँमा उत्रिने र अरु ठाउँमा यात्रु बसाल्दै गएको बुझिएको छ ।

दुर्घटना भएको ठाउँमा ब्रेक फेल भएको आशंका गरिएकोमा भित्तामा ठोकाउन सकिने अवस्था समेत थियो । तर अनियन्त्रीत भएको जीप भीरमा खसेको देखिन्छ ।
दुर्घटनामा एकै गाउँका ६ जनाको ज्यान गएपछी बाँझ गाउँ नै सोकाकुल भएको छ । अन्य समयमा मजदुरी गर्न भारत गएका बझाङ्गका धेरैजसो व्यक्तिहरु नयाँबर्षका दिन विशु पर्व मनाउन घर आउने गर्दछन् ।


प्रतिक्रिया