`

गण्डकीमा कांग्रेस नेतृत्वमा सरकार बन्ने सहमति, सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री

Nepal One HD ३ वैशाख २०८० १४:५६
राजनीति

काठमाडौं – गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ । आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच गण्डकीमा आलोपालो सरकार बनाउने सहमति भएको हो ।

दुई दलका शीर्ष नेतासहित कांग्रेस महामन्त्री गगन थापा, माओवादी प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस नेता रमेश लेखक, कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डे, माओवादी गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानसहितको छलफलपछि नयाँ सरकार बनाउने सहमति भएको हो ।

एमालेको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारलाई माओवादीले विश्वासको मत फिर्ता लिएको एक महिना पुग्नै लाग्दा यस्तो सहमति भएको हो ।

प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले सरकारको नेतृत्व गर्ने भएको छ । तर माओवादीले पहिले कांग्रेसकै नेतृत्वमा सरकार भएकाले आफूले पाउनुपर्ने दाबी गरिरहेको छ ।

एमालेको सरकार अल्पमतमा परेपछि गण्डकीमा गठबन्धनले सरकार गठन गर्ने तयारी गरेको हो । एमालेका मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा परिसकेका छन् । उनले केही दिनभित्रै राजीनामा दिने मनस्थिति बनाएका छन् । अधिकारीले पदबाट राजीनामा दिएलगत्तै कांग्रेस संसदीय दलका नेता पाण्डेले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसँग निवेदन गर्ने भएका छन् । पाण्डेपछि माओवादीका चुमान मुख्यमन्त्री बन्ने भएका छन् ।


प्रतिक्रिया