पिडितहरुलाई हामी न्याय दिन प्रतिवद्ध छौं : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटर ब्याज पीडितहरुलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
सोमबार शान्ति बाटिकामा मिटर ब्याज पीडित र प्रहरीबीच झडप भएको प्रसंगलाई लिएर आज मंगलबार गृह मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले मिटर ब्याज पीडितहरुमाथि भएको बल प्रयोगबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको जानकारी गराएका छन् । उनका अनुसार काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको हो ।
जागरण अभियानका रुपमा कसैले मिटरव्याजीलाई अगाडि बढाए पनि अन्यथा नसोच्ने मन्त्री श्रेष्ठको भनाइ थियो । तर, मिटरव्याज पिडितका नाममा न्याय दिने अभियानलाई कमजोर पार्ने काम कसैले गर्नु नहुनेमा उनले जोड दिए ।
‘आयोगले काम थालिसक्यो । सिडीओको नेतृत्वमा कमिटी बनिसक्यो । पिडितहरुलाई हामी न्याय दिन प्रतिवद्ध छौं । होलिस्टिक एप्रोचबाट समाधानका प्रक्रिया अगाडि बढाएको छ । जनजागरण अभियानबाट बल पुर्याउनेलाई पनि धन्यवाद । तर, जनजागरणका नाममा पिडितहरुलाई नै दुख दिने काम नगरौं,’ उनले भने ,
मन्त्री श्रेष्ठले हिजोको घटनाबारे आफूले सत्यतथ्य बुझेको उल्लेख गरे । घटनाबारे वर्णन गर्दै उनले भने, ‘उहाँहरु शान्तिबाटिकामा जहाँ बस्नुभएको छ, त्यहाँ प्रहरीहरु पहिले पनि जाने र निगरानजी गर्ने गर्थे । उनीहरुलाई सुरक्षा दिन पनि पर्यो । तर सँधैझैं हिजो त्यहाँ जाँदा अर्कै खालको परिस्थिति देखियो । त्यहाँभित्रबाट प्रहरीलाई तपाईंहरु बाहिर जानुस भनिएछ । टाउकोमा राता पट्टि लगाएका छन् । बाँसका भाटा र ईंटा जम्मा गरिएको छ । ‘निर्णायक दिन’ भनिएको छ । त्यसैले प्रहरी अलि सचेत भए । अलि बढी दवावको मनोविज्ञानमा आए । बाहिरबाट पनि केही मान्छे भित्र जान थाले । भित्र लाठी–ढुंगा थुपारेका छन् भनेपछि केही घटना गराउँछन् कि भन्ने भयो । खबरदार बाहिर जाउ भनेपछि प्रहरीले बाहिरबाट ढोका लगाएछन् । त्यति भइसकेपछ ढुंगा प्रहार हुन थाल्यो । मैले कमाण्डका डिएसपीलाई पनि भेटेँ । उहाँको नाक भाँचिएको छ, ओठ फुटेर सात टाँका लगाएको छ । हेरिसाध्ये छैन । सहायक हवल्दारको हात फ्याक्चर छ । आठ प्रहरी घाइते भएका छन् । कमाण्डरलाई आक्रमण भइसकेपछि प्रहरी उत्तेजित भएको देखिन्छ । तर, प्रहरी प्रशासन सँधै संयमित र जिम्मेवार हुनुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो ।
