`

क्रिकेटर सन्दीप लामिछाने विरुद्ध मुद्दाको अन्तिम सुनुवाई सुरु

Nepal One HD ११ वैशाख २०८० १५:००
प्रमुख खबर

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज अन्तिम सुनुवाई सुरु भएको छ । 

न्यायाधीश दीपक ढकालको इजलासमा लामिछाने विरुद्धको मुद्दामा आज अन्तिम सुनुवाई सुरु भएको हो । 

यसअघि, दुई जना साक्षीको बकपत्र नभएकाले चैत २६ गते न्यायाधीश शंकरराज बरालको इजलासले मुद्दाका साक्षी बुझ्न  आदेश दिएको थियो ।

सर्वोच्च अदालतले गत फागुन १५ गते सन्दीपविरुद्धको मुद्दा किनारा लगाउन द्रुतमार्गबाट अन्तिम सुनुवाइ गर्न आदेश दिएको थियो । 

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका सन्दीपविरुद्ध भदौ २१ गते जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा एक किशोरीको  जाहेरी परेको थियो ।

क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज गएका सन्दीप असोज २० गते नेपाल फर्किँदै गर्दा सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए ।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौँ जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । 

जिल्ला अदालतको आदेशविरुद्ध उच्चमा पुनरावेदन दिएका सन्दीपलाई उच्च अदालतले पुस २८ गते २० लाख रुपैयाँ धरौटीमा सशर्त रिहा गरेको थियो ।


प्रतिक्रिया