चलचित्र ‘सतीदेवी’को मुहूर्तसँगै काठमाडौँमा छायाङ्कन सुरु


काठमाडौँ – चलचित्र ‘सतीदेवी’ को मुहूर्तसँगै काठमाडौँमा छायाङ्कन सुरु गरिएको छ। लेखक, गीतकार तथा निर्माता लक्ष्मण सुवेदीको निर्माणसँगै निर्देशन रहेको चलचित्रमा शीर्ष भूमिकामा अभिनेत्री मलिका महत हुनुहुन्छ।
दिलासा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भइरहेको चलचित्रमा रमेश बुढाथोकी,भोला सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी,सृजना अधिकारी,मनिषा सापकोटासँगै बाल कलाकार हर्षिका ओली र मन्जिला बानियाँको अभिनय रहेको छ।
छायाङ्कनरत चलचित्र महिला केन्द्रित विषयवस्तुमा आधारित रहेको निर्देशक सुवेदीले जानकारी दिनुभयो। “हामीले ३० दिनको तालिका बनाएर सुरुआत गरेका छौँ। चलचित्रमा सतीदेवीको आँखाबाट कथा प्रस्तुत गरिएको छ”, निर्देशक सुवेदीले भन्नुभयो। यसमा दीपक शर्मा र सुभाष भुसालको सङ्गीत, बाबु श्रेष्ठको छायाङ्कन,देव महर्जनको द्वन्द्व,रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ। रङ्गपत्रकार हुँदै चलचित्रकर्मी बनेका सुवेदीले यसअघि ‘एउटा साथी’ र ‘लालजोडी’ चलचित्रको निर्देशन गरिसक्नुभएको छ।