‘अर्थतन्त्र सुधारका लागि सत्ता र प्रतिपक्षको भाव नबोकौँ’

काठमाडौँ – सांसद धनराज गुरुङले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सत्तापक्ष र प्रतिपक्षले एकबताबद्ध भएर सामूहिक प्रयत्न गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले मुलुक आर्थिक महासङ्कटमा परेकाले यस्तो अवस्थामा सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
“सत्ता र प्रतिपक्षको भाव बोकेर होइन, एक ठाउँमा बसेर काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “समाधानको उपाय खोज्नुपर्छ, पुँजीगत खर्च कटौती गर्न खोजिएको आभाष भएको छ, पुँजीगत खर्च कटौती गरेर मुलुकलाई उभोगतितर्फ लैजान सकिँदैन ।”
वन व्यवस्थापन कार्यविधि बनाएर वन जङ्गलमा रहेका पुराना काठ बिक्री गरेर भए पनि अर्थतन्त्रलाई टेवा दिनुपर्ने जनाउँदै उहाँले नेपालमा उपलब्ध निकासीजन्य वस्तुलाई यो अवस्थामा प्रयोग नगरे कहिले गर्ने ? भन्दै प्रश्न गर्नुभयो । भ्रष्टाचार मुलुकको आर्थिक समृद्धिमा बाधक रहेको भन्दै सांसद गुरुङले भ्रष्टाचार नियन्त्रणमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो ।
सांसद भीमप्रसाद आचार्यले नेपालको संविधानले तीन खम्बे अर्थनीतिको परिकल्पना गरेको भन्दै सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समास्या समाधान गर्न सरकारले ध्यान दिन नसकेको बताउनुभयो । रुपान्तरणकारी आयोजनाको निर्माण गर्न तोकिएको भन्दा धेरै समय लाग्दा राजस्व सिर्जनाको वातावरण नबनेको भन्दै उहाँले त्यस्ता परियोजना समयमै सम्पन्न गर्न ध्यान दिनुपर्ने बताउनुभयो ।
सांसद महेन्द्रबहादुर शाहीले मुलुकका बारेमा सदनदेखि सडकसम्म वहस भइरहँदा दिनप्रतिदिन अवस्था खस्किरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । सङ्घीय व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न सङ्घीय ऐन बनाउन सरकारले ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले निजामती, प्रहरीलगायत विधेयक तत्काल संसद्मा ल्याउन माग गर्नुभयो ।
उहाँले भन्नुभयो, “संसद् भाषणवीरहरु जन्माउने थलोको रुपमा विकास हुँदैछ । तर यहाँ चाहिएको काम हो । संसद् प्रभावकारी बनाउन समितिको गठन तत्काल हुनुपर्छ । संसद् ‘विजनेसविहीन’ भएको छ । निजामति, प्रहरी र प्राकृतिक साधन स्रोत बाँडफाँडसम्बन्धी विधेयक पेश गर्न जरुरी छ ।”
सांसद अशोककुमार चौधरीले बाध्यकारी वैदेशिक रोजगारीलाई अन्त्य गरी स्वदेशमा रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो । श्रम बेचेर कहिलेसम्म देशको अर्थतन्त्र धान्ने हो भन्दै उहाँले रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउन माग गर्नुभयो ।
सांसद विक्रम पाण्डेले चितवनका जनताले बर्सेनि बाढीको जोमिख व्यहोर्दै आएकाले नारायणी तथा राप्ती नदीको तटबन्ध कार्यक्रमलाई छिटो सम्पन्न गर्न आग्रह गर्नुभयो । उहाँले आउने वर्षामा पश्चिम चितवन र माडी जोखिममा रहेकाले समयमै साधन स्रोतको व्यवस्था गरी आधुनिक तटबन्धन गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद रेखा यादव देशको पहरेदार भएर काम गरिरहेका सुरक्षाकर्मीलाई तत्काल तलब दिन सरकारसँग माग गर्नुभयो । उहाँले सांसदको तलब प्रहरीलाई दिन र प्रहरीको तलब आफूहरुलाई दिन प्रस्ताव गर्नुभयो ।
सांसद भानुभक्त जोशीले नेपाल कृषिप्रधान मुलुक भए पनि खाद्य सामग्री विदेशबाट आयात भएको, उत्पादनमा संलग्न हुनुपर्ने युवा जनशक्ति विदेशिएको अवस्थामा आगामी वर्षको बजेट निर्माण गर्दा सांसद र विज्ञसँग छलफल गर्न आग्रह गर्नुभयो ।
सांसद विनिताकुमारी सिंहले सिरहाको लक्ष्मीपुरमा रहेका प्राचीन पोखरीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानकर्षण गराउनुभयो । सांसद सर्वेन्द्रनाथ शुक्लाले सरकारले पाँच वर्षमा कृषि उत्पादन दोब्बर गर्ने लक्ष्य लिएको भए पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सोे लक्ष्य पूरा गर्ने गरी काम गर्न नसकेको बताउनभयो ।
सांसद लालवीर चौधरी थारु समुदाय सिकलसेल एनिमियालगायत रोगबाट प्रभावित रहेकाले सो रोगको उपचार तथा नियन्त्रणमा ध्यान दिन आग्रह गर्नुभयो ।सांसद प्रेम सुवालले किसानलाई समयमै मल उपलब्ध गराउन माग गर्नुभयो ।