राज्य स्रोतमा हातहाल्न पाउने बित्तिकै ब्रह्मलुट मच्चाउने प्रवृत्ति देखा पर्यो : राजेन्द्र लिङ्देन


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्य स्रोतमा हातहाल्न पाउने बित्तिकै ब्रह्मलुट मच्चाउने प्रवृत्ति देखा परेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौँमा राप्रपा बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लिङ्देनले श्रोत साधनको अभावका कारण विकास आयोजनाहरू सुस्त रहेको , ऋण उठाएर चालू खर्च चलाउनुपरेको अवस्थामा अहिले राज्य स्रोतमा हातहाल्न पाउने बित्तिकै ब्रह्मलुट मच्चाउने प्रवृत्ति देखा परेको बताउनुभएको हो ।
अहिलेको अवस्थामा राष्ट्रपतिको औषधी उपचारका लागि विदेश यात्रा जानु काम भएको र अयोग्य लडाकुलाई रकम दिने तयारी गरिएको भन्दै त्यसलाई रोक्न राप्रपा जस्तो दलहरू मजबुत हुनुपर्ने उहाँले बताउनुभयो । लिङ्देनले प्रारम्भदेखि नै उपनिर्वाचनलाई प्राथमिकतामा नराखेका कारण मत परिणामले आत्तिनुपर्ने कुनै कारण नभए पनि जनताले विकल्पको खोजी गरेको सन्देश दिएको बताउनुभयो ।
उहाँले यसअघि सरकारको नेतृत्व गरेकाले नै प्रतिबद्धता विपरीतको काम गरेकाले सरकार छाडेको स्पष्ट पार्दै सरकारमा बसेका समयमा राप्रपाका मन्त्रीहरूले गरेको कामका कारण लजाउनुपर्ने र शिर झुकाउनुपर्ने अवस्था नआउने जिकिर गर्नुभयो । त्यस्तै उहाँले भागबण्डा गरेर र पहिलेको अवस्था फर्काएर पार्टीलाई समाप्त पार्ने छुट आफूलाई नभएको स्पष्ट पार्नुभयो ।
लिङ्देनले पार्टीमा बसेर पार्टीलाई नै भोट दिन सकिँदैन भने पार्टी छाडेर सघाउन सुझाव दिनुभयो ।