निजी र सरकारी क्षेत्र मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्छ :स्वास्थ्यमन्त्री बस्नेत


काठमाडौँ – स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले सबै मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताउनुभएको छ ।
मंगलबार काठमाडौँमा एकता व्यापार सङ्घले आयोजना गरेको वृहत् निःशुल्क स्वास्थ्य शिविर उद्घाटन गर्दै जनतालाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि निजी र सरकारी क्षेत्र मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले अझै पनि जनसङ्ख्या अनुसार स्वास्थ्य क्षेत्रमा दरबन्दी निकै कम भएकाले जनताले सहज रूपमा स्वास्थ्य सेवा पाउन नसकेको बताउनुभयो । सर्ने वा नसर्ने रोगको व्यवस्थापनका लागि समयमा नै सावधान अपनाउन नसके ठुलो क्षति हुने भएकाले यस विषयमा सरकारको उचित ध्यान जाने मन्त्री बस्नेतले धारणा राख्नुभयो ।
त्यस्तै उहाँले मुलुकको आर्थिक अवस्था कमजोर भएकाले कारण निजी क्षेत्र समस्यामा परेको भन्दै सरकारले आफ्नो नीति सुधार गरेर गरिखान दिने वातावरण बनाउनुपर्ने बताउनुभयो ।