`

सभापति देउवाद्वारा कायस्थको निधनप्रति दुःख व्यक्त

Nepal One HD २८ वैशाख २०८० १६:०९
राजनीति

काठमाडौँ / नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ‘जिउँदा सहिद’का रुपमा चिनिने ३२ वर्षीय मुकेश कायस्थको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

कायस्थ २०६२/६३ को जनआन्दोलनका क्रममा २०६२ चैत २७ गते बनेपामा निस्केको र्‍यालीमा सहभागी हुँदा प्रहरीको गोली लागेर गम्भीर घाइते हुनुभएको थियो ।

त्यसपछि सधैँ अर्धचेत अवस्थामा रहनुभएका उहाँको हिजो वैशाख २७ गते साँझ शिर मेमोरियल अस्पतालमा निधन भएको हो ।

सभापति देउवाले आज एक शोक सन्देशमार्फत जनआन्दोलनमा १४ वर्षकै उमेरमा लोकतन्त्र बहालीका लागि आफ्नो प्राण जोखिममा राखी होमिनु भएका ‘जिउँदा सहिद’ कायस्थको निधनको खबरले आफूलाई स्तब्ध र दुःखित बनाएको उल्लेख गर्नुभएको छ ।

सभापति देउवाले आज प्राप्त भएको राजनीतिक उपलब्धि उहाँ र उहाँ जस्तै वीर सहिदहरुको अतुलनीय योगदानबाट सम्भव भएको बताउँदै नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले निर्वाह गर्नुभएको भूमिका नेपाली इतिहासमा सदा स्मरणीय रहिरहने उल्लेख गर्नुभएको छ । उहाँले कायस्थप्रति श्रद्धाञ्जलि र आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।


प्रतिक्रिया