`

काठमाडौँमा नेकपा एसको प्रदर्शन- शरणार्थी प्रकरणका सबै अपराधीलाई कडा कारबाही होस्

Nepal One HD २८ वैशाख २०८० १७:२१
राजनीति

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणका सबै अपराधीलाई कडा कारबाही गर्नुपर्ने भन्दै नेकपा एकीकृत समाजवादीले काठमाडौँमा प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौँको माइतिघरमा एकीकृत समाजवादीका मोर्चा सङ्गठनहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई छिटो भन्दा छिटो कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । उनीहरूले यस प्रकरणमा कुनै पनि दबाबका कारण पछि हट्न नहुने जनाएका छन् ।

उनीहरूले यस प्रकरणमा निकै अघि बढिसकेको अनुसन्धानलाई पछि नढकेल्न समेत ध्यानाकर्षण गराएका छन् । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य बलराम बाँस्कोटाले भ्रष्टाचार विरुद्धको आन्दोलनको उद्घोष गरेको र यसलाई देशव्यापी बनाउने बताउनुभयो । राजनीतिलाई आधार बनाएर हुने भ्रष्टाचारले समग्र मुलुक र राजनीतिको बदनाम भएकाले यसलाई सदाका लागि अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो ।

समाजवादीका मोर्चा सङ्गठनहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका साथै सबै प्रकारका भ्रष्टाचारहरुलाई छानबिन गर्नुपर्ने जनाएका छन् ।


प्रतिक्रिया