शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्र ढंगले छानबिन गर्न देऊ : योगेश भट्टराई


काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले नक्कली शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्र ढंगले छानबिन गर्न दिनुपर्ने बताउनुभएको छ । आज बिहान सामाजिक सञ्जालमा सचिव भट्टराईले प्रहरी राजनीतिक दबाब र पक्षधरताबाट मुक्त हुनुपर्ने बताउनुभएको हो ।
‘साधन र स्रोतका बाबजुद अपराधीक घटनाको छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन नेपाल प्रहरी सक्षम छ । विगतमा कतिपय जटिल र अप्ठ्यारो ठानिएका घटनामा नेपाल प्रहरीले आफूलाई काबिल सबित गरेको छ । प्रहरीको अनुसन्धानमाथि बाह्यय दबाब, राजनीतिक हस्तक्षेप र स्वार्थ समूहले रोटी सेक्न खोज्दा अनुसन्धान कसरी बरालिन्छ भन्ने कुरा निर्मला पन्त काण्डबाट नेपाल प्रहरीले पाठ सिकेकै होला’, उहाँले लेख्नुभएको छ, ‘नक्कली भुटानी शरणार्थी केस सामान्य अपराध मात्र होइन मानव तस्करी र बेचबिखनमा सरकारको राजनीति र प्रशासनिक नेतृत्व कै अगुवाइमा भएको राष्ट्र द्रोह हो ।’
सचिव भट्टराईले आफ्नै नागरिकलाई अनागरिक बनाएर विदेशीन बाध्य बनाउने, निन्दा र भर्त्सना गर्ने कुनै शब्द नरहेको उल्लेख गर्नुभएको छ ।
‘आफ्नै नागरिकलाई अनागरिक बनाएर विदेशिन बाध्य बनाउने, निन्दा र भर्त्सना गर्ने पनि कुनै शब्द नै छैन । नेपाल र नेपालीको आत्मसम्मानमाथि अपूरणीय क्षति पुगेको छ’, सचिव भट्टराईले लेख्नुभएको छ, ‘पार्टी र राज्यको सांस्कृतिक अधपतनलाई शुद्धीकरण गर्ने, व्यवस्थाप्रति जनविश्वास जाग्रित गर्ने, राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरणको जालो नष्ट गर्ने, नेपाल प्रहरीको छवि उजिल्याउने उपयुक्त अवसर हो यो ।’