`

कांग्रेसलाई राजनीतिक पार्टीको संज्ञा दिन सकिँदैन : अध्यक्ष ओली

Nepal One HD ३ जेठ २०८० ११:१८
राजनीति

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई आवारा पार्टीको संज्ञा दिनुभएको छ । पार्टीले आयोजना गरेको मदन-आश्रित स्मृति दिवसमा बोल्दै अध्यक्ष ओलीले कांग्रेसलाई राजनीतिक पार्टीको संज्ञा दिन नहुने बताउनुभएको हो । 

‘देशको आर्थिक अवस्था कमजोर भएको छ । देश यस्तो अवस्थामा छ । तर इतिहास बोकेको पार्टी भोलि कहाँ पुग्ने हो थाहा छैन । देश कहाँ लाग्ने हो उसलाई थाहा छैन’, उहाँले भन्नुभयो, ‘एमाले एक्लैले देश बनाउने अभिभारा पुरा गर्छ । हामी सत्ता स्वार्थका लागि कसैसँग मिल्दैनौं । देश जनता, सुशासनका लागि, समृद्धिका लागि मिल्छौ ।’ 

अध्यक्ष ओलीले अहिलेको गठबन्धन सत्ता प्राप्तिका लागि मात्र बनेको दाबी गर्नुभएको छ । गठबन्धनलाई सरकारी गठबन्धन भन्दै उहाँले देश झनै आर्थिक समस्यामा पर्ने चिन्ता व्यक्त गर्नुभयो । 

‘देशमा राजनीतिक अराजकता भयो । सरकार जान्छ कि टिक्छ भन्नेमात्रै चिन्ता छ । देश संकटै संकटले घेरिएको छ । आर्थिक अवस्था बिथोलिएको छ । सरकार समाजलाई आफ्नो गतिमा लग्न सचेत देखिँदैन’, उहाँले भन्नुभयो, ‘एमाले यसमा गम्भीर हुनुपर्छ , गम्भीर छ ।’ 

अध्यक्ष ओलीले देशलाई समृद्धिको बाटोमा लग्न मदन भण्डारीका सपनालाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।


प्रतिक्रिया