राष्ट्र र जनताको हितमा काम गर्ने सङ्कल्प लिएको छु : प्रधानमन्त्री दाहाल


नुवाकोट / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र र जनताको हितमा काम गर्ने सङ्कल्पका साथ प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेको बताउनुभएको छ ।
पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन समुद्घाटन समारोहलाई आज सम्बोधन गर्नुहुँदै उहाँले निजी तथा सार्वजनिक संस्थासँगको सहकार्यमा सहजरूपमा जनतालाई सेवा उपलब्ध गराइरहेको उल्लेख गर्नुभयो ।
सवारी चालक अनुमति पत्र, राहदानी र राष्ट्रिय परिचयपत्र प्राप्त गर्न नागरिकले बेहोर्नुपरेको परेको हैरानीलाई सहज बनाएको स्मरण गर्दै उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, समयमा नै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउने जस्ता जनताको पक्षमा धेरै काम भइसकेका छन् । विकृति, बेथिति र भष्ट्राचार नियन्त्रणका लागि दृढताका साथ कठोर कदम चालिरहेका छौँ ।”
नेपालीको शिर उच्च रहने गरी भारत सरकारसँग सम्झौता भएको उहाँले बताउनुभयो । आफ्नो इच्छाअनुसार नै राष्ट्र, जनता, नेपालको आर्थिक उन्नति, विकास र समृद्धिको पक्षमा भारत सरकार र त्यहाँका नेताहरूसँग छलफल भएको उहाँको भनाइ छ । “नेपाल र भारतको सीमामा रहेको लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयमा जहिल्यै समस्या उत्पन्न हुने गरेको थियो । नेपालका प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा अबको दिनमा सीमाको समस्या उत्पन्न हुँदैन भनेर पत्रकार सम्मेलनमार्फत प्रतिबद्धता जनाएका छौँ”, उहाँले भन्नुभयो, “भारत भ्रमणको क्रममा उठाइएका विषयले नेपाल गौरवान्वित छ । उद्योगी व्यवसायी खुसी छन् । इतिहासमा पहिलो पटक राष्ट्रको हितमा काम गर्न पाएकोमा म खुसी छु ।”
अर्थमन्त्री डा प्रकाशशरण महतले राज्यले कृषि क्षेत्रमा दिँदै आएको अनुदान दुरुपयोग हुन नदिने उद्घोष गर्नुभयो । उहाँले उत्पादनका आधारमा मात्रै अनुदान दिने बताउनुभयो । “जसले उद्यमशीलता देखाएर नयाँ तरिकाबाट कृषि व्यवसाय अगाडि बढाउँछ अबको दिनमा उसैलाई मात्र राज्यले अनुदान दिन्छ । यो नीतिले कृषि क्षेत्रमा दिइँदै आएको अनुदान दुरुपयोग हुँदैन भन्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो, “देशको सात सय ५३ वटै स्थानीय तहलाई लगानी र रोजगारीसँग जोड्ने लक्ष्य रहेको छ । बाँझो जमिनको सदुपयोग गरेर कृषि उद्यमशीलता, पर्यटन व्यवसाय, उद्योग सञ्चालन गर्ने सम्बन्धित निकायलाई राज्यले साथ दिनेछ ।”
आगामी आव २०८०/८१ का लागि विनियोजित बजेट आवश्यकता र मागमा आधारित रहेको अर्थमन्त्री डा महतको भनाइ छ । “प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा बढी बजेट गएको भन्ने चर्चा र बहस संसदद्देखि संसद् बाहिरसम्म चलिरहेको अवस्था छ । तर देशको आवश्यकतालाई प्राथमितामा राखेर बजेट विनियोजन भएको छ”, उहाँले भन्नुभयो, “विदेशी सहयोग आओस् नआओस् टोखा–छहरे सुरुङ मार्ग बनाउने प्रक्रियालाई अगाडि बढाउनेछौँ ।”
उक्त कार्यक्रममा नुवाकोटबाट प्रतिनिधिसभा र प्रदेशससभा सदस्यमा निर्वाचित सदस्यको सहभागिता रहेको थियो । लाकरी भञ्ज्याङमा निर्माण गरिएको २७ कोठे आधुनिक भवन निर्माण गर्न रु छ करोडभन्दा बढी लगानी भएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानाकारी दिनुभयो । बीस रोपनी जग्गामा कार्यालय भवन निर्माण गरिएको र भवन निर्माणका लागि स्थानीयवासीले जग्गासमेत उपलब्ध गराएका छन् ।