`

तीनवटा साना जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढेको छ : मन्त्री किराती

Nepal One HD २८ असार २०८० १५:१०
राजनीति

काठमाडौँ / संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताउनु भयो ।

राष्ट्रिय सभा विनियोजन विधेयकमाथि सांसदहरूले उठाउनु भएका विषयमा जवाफ दिँदै मन्त्री किरातीले नेपाल वायु सेवा निगमले तिन वटा साना जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाएको पनि जानकारी दिनुभयो ।

उहाँले दुर्गम क्षेत्रमा विमानस्थलहरू बनेपनि त्यस क्षेत्रमा उड्ने हवाईजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि नै प्रश्न उठेको भन्दै दुर्गम क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकोले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित नदेखिएको बताउनुभयो ।

मन्त्री किरातीले देशका विभिन्न स्थानमा विमानस्थल निर्माणको माग भएको उल्लेख गर्दै विमानस्थलको सङ्ख्या थप्ने भन्दापनि सेवा र गुणस्तर बढाउनेमा जोड दिनुपर्ने बताउनुभयो ।

मन्त्री किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरी नियामक निकायका रुपमा नागरिक उड्डयन प्राधिकरण र सेवा प्रदायक रुपमा हवाई सेवा प्राधिकरण स्थापना गर्ने गरी छुट्टाछुट्टै विधेयक संसदमा पेश गर्ने गरी तयारी भइरहेको जानकारी सदनलाई दिनुभयो ।


प्रतिक्रिया