बिपीले लिनुभएको परराष्ट्र नीति सन्तुलित भएकाले आज पनि उत्तिकै उपयोगी – डा बाबुराम भट्टराई


काठमाडौँ – नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको अन्तर्राष्ट्रिय राजनीतिमा उच्च स्थान र कूटनीतिक क्षेत्रमा सन्तुलित योगदान रहेको विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले बताउनुभएको छ ।
कांग्रेसले बिपीको ११०औँ जन्मदिनको अवसरमा आइतबारदेखि सानेपामा आयोजना गरेको ‘बिपी साहित्य सम्मेलन–२०८०’ को दोस्रो दिन ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी’ विषयमा छलफल भएको थियो । सो विषयमा मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले बिपीले लिनुभएको परराष्ट्र नीति सन्तुलित भएकाले आज पनि उत्तिकै उपयोगी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मार्क्स र गान्धीको विचारबाट प्रभावित हुनुभएका बिपीको विचारमा मार्क्सवाद र गान्धीको आर्थिक समाजवाद तथा अहिंसावादी व्यवहार झल्किन्छ । बिपीलाई २०१७ सालमा प्रधामन्त्रीबाट हटाउन देशभित्र कै सामन्तवर्ग र विदेशी शक्तिको साथ र उक्साहटमा तत्कालीन राजा महेन्द्रले भूमिका खेलेका हुन् ।”
उहाँले बिपी अग्रगामी, लोकतान्त्रिक र समाजवादी चरित्रको हुनुहुन्थ्यो भन्दै भारतमा आफ्नै मित्र इन्दिरा गान्धीले सङ्कटकाल लगाएको, सिक्किम भारतमा विलय भएको आदि कारणले राजासँग मेलमिलापको नीति लिएर बिपी नेपाल आउनुभएको उल्लेख गर्नुभयो ।
पूर्वप्रधानमन्त्री डा भट्टराईले बिपीको राष्ट्रियताको विषयमा राजासँग मिलेर जान खोज्ने मेलमिलापको नीति सही भए पनि राजाले विश्वासघात गरेको उल्लेख गर्नुभयो । उहाँले बीपीले अँगालेको सो नीति सफल नभए पनि सही भएको बताउनुभयो । उहाँले नेपालमा दलहरूबीच पदका लागि बाहेक सहमति नजुट्नु दुर्भाग्य भएको बताउनुभयो । पूर्वप्रधानमन्त्री डा भट्टराई भन्नुभयो, “कोही ठूलो मान्छे बन्न खोज्छ भने उसले बल मिच्याइँ गर्छ भनेर बिपी भन्नुहुन्थ्यो ।”