`

शिख नेताको हत्या प्रकरण– भारत र क्यानडाबीचको कुटनीतिमा तिक्तता

Nepal One HD २ असोज २०८० १२:४५
प्रमुख खबर

क्यानडामा शिख नेताको हत्या विषयलाई लिएर भारत र क्यानडाको कूटनीतिक सम्बन्धमा तिक्तता बढेको छ । दुबै देशले एक–अर्काका एक–एक जना कूटनीतिज्ञलाई देश निकाला गरेका अन्र्तराष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।

गत असारमा खलिस्तानी टाइगर फोर्स प्रमुख निज्जारको गोली हानी हत्या भएको थियो । सोमबार संसदमा प्रधानमन्त्री ट्रुडोले निज्जारको हत्यामा भारतीय सरकारका एजेन्टको हात हुन सक्ने बताएका थिए । उनको यो भनाइमा भारतीय विदेश मन्त्रालयले भने क्यानडाका प्रधानमन्त्रीको आरोप तथ्यहीन भएको जवाफ दिएको थियो । एक अर्काप्रतिको आरोप प्रत्यारोप बढ्दै गएपछि यी मुलुकबीचको कूटनीतिक सम्बन्धमा चिसो बढेको हो । प्रधानमन्त्रीको संवोधन लगत्तै क्यानडाले एक जना भारतीय कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरेको थियो।

आफ्ना कूटनीतिज्ञलाई देश निकाला गरेपछि बदलामा भारतले पनि आज एक जना क्यानडाका कूटनीतिज्ञलाई पाँच दिनभित्र भारत छोड्न भनेको छ । गुरूद्वाराबाहिर गोली हानी हत्या गरिएका निज्जारलाई भारतले सन २०२० मा आतंककारी घोषणा गरेको थियो।

भारतमा केही शिखहरूले पञ्जाबमा छुट्टै खलिस्तान देश बनाउने आन्दोलन गरिरहेका छन्। सुरूमा भारतको पञ्जाबमा खलिस्तान बनाउने र पछि पाकिस्तानको पञ्जाबबाट खलिस्तान भूमि गाभ्ने भन्दै उनीहरूले आन्दोलन गरिरहेका छन्।


प्रतिक्रिया