`

गणेशमान सिंहले देखाएको सुशासनको बाटोमा हिँडे जनता सुखी हुन्छन्– प्रकाशमानसिंह

Nepal One HD २ असोज २०८० १३:४७
राजनीति

काठमाडौ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहले देखाएको सुशासनको बाटोमा हिँडे जनता सुखी र देश समृद्ध हुने बताउनुभएको छ ।

२०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २६औँ स्मृति दिवसका अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा गरेको कार्यक्रममा नेता सिंहले यस्तो बताउनुभएको हो ।हालसम्म प्राप्त राजनीतिक उपलब्धि उल्टाउने षडयन्त्र भइरहेको भन्दै उहाले कठोर संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि रक्षाका लागि सबै राजनीतिक दलहरुबीच सहकार्य आवश्यक रहेको जिकिर गर्नुभयो । संघीयता र गणतन्त्र सहितको अहिलेको संविधान असफल बनाउने चलखेल भएपछि कांग्रेस र माओवादी केन्द्र लगायत दलहरुको गठबन्धन बनाउनुपरेको उहाको भनाइ छ । गणेशमान सिंहले प्रजातन्त्र प्राप्तिका लागि गरेको संघर्ष, त्याग, बलिदान, आदर्श समाज निर्माणका लागि लोकतान्त्रिक प्रणालीलाई मूल्य मान्यता, विधि र नियमअनुसार चलाउन गरेको संघर्ष अनुकरणीय भएको उहाले बताउनुभयो ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मनुभएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो ।


प्रतिक्रिया