`

एकीकृत समाजवादीले असोज १४ देखि जागरण अभियान थाल्ने

Nepal One HD ११ असोज २०८० १७:५९
राजनीति

काठमाडौ– नेकपा एकीकृत समाजवादीले असोज १४ गतेदेखि समाजवादी जागरण अभियान संचालन गर्ने भएको छ । आज पार्टी कार्यालय आलोकनगरमा पत्रकार सम्मेलन गरी झापाको मेची किनारबाट प्रारम्भ हुने जनअभियान असोज २९ गते महाकालीमा समापन हुने जनाएको हो । अभियानका क्रममा समाजवादी जागरण अभियान को नाममा जनताको घर दैलोमा पुग्ने समाजवादीले जनाएको छ । त्यस्तै सुशासन, विकास र रोजगारीको मागका साथै भ्रष्टाचारको अन्त्य गर्न जनतालाई जागृत गर्नका लागि अभियान गर्न लागिएको नेकपा एकीकृत समाजवादीको भनाइ छ । अभियानका क्रममा रुपान्तरणकारी एजेन्डा, पार्टीले उठाउँदै आएका मुद्दा र कार्ययोजनाबारे जनतालाई बुझाइने समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जानकारी दिए ।

पार्टीको धारणाहरु जनतामा पुराउने र जनताको विश्वास हासिल गर्ने गरि अभियानको आयोजना गरिएको उनको भनाइ छ । अध्यक्ष नेपालले समानताको धारणा, न्याय, सुशासनको प्रत्याभूति, बिकासको अभियान र जनतालाई समृद्ध बनाउने खालको समाजवादको अवधारणा सहित जनतामाझ जाने जिकिर गरे ।

अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेशमा रोकिएको मोर्चाको सभाका बारेमा शुक्रबार बस्ने मोर्चाको सचिवालय बैठकले टुङ्गो लगाउने जानकारी दिए । समाजवादीले समाजवादी जागरण अभियानमा सहभागी हुन आह्वान समेत गरेको छ ।


प्रतिक्रिया