`

‘ज्येष्ठ महिलामाथि हुने हिंसाको अन्त्य गर्न सम्पत्तिमा स्वामित्व अभिवृद्धि आवश्यक छ’

Nepal One HD १५ असोज २०८० २०:०६
राजनीति

काठमाडौँ, १५ असोज ः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले ज्येष्ठ नागरिकमाथि हुने अवहेलना, हिंसा र दुव्र्यवहारलाई अन्त्य गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रिय महिला आयोगद्वारा आज यहाँ आयोजित ‘ज्येष्ठ नागरिकमाथि हुने अवहेलना, दुव्र्यवहार र हिंसाविरुद्ध ज्येष्ठ महिला सुरक्षाको सवालमा अन्तरक्रिया’ कार्यक्रममा उहाँले ज्येष्ठ नागरिकले आफ्ना परिवार¸ समुदाय र समाजबाट मात्र नभएर राष्ट्रबाट समेत अपेक्षा गर्ने भन्दै नेपालमा ज्येष्ठ नागरिकको सुरक्षा र सम्मानलाई बढाउँदै लैजाने प्रतिबद्धता गर्नुभयो ।

“औसत आयु वृद्धि हुँदा जीवनभर राम्रो स्वास्थ्य, दिगो र आशालाग्दो जीवनयापन, लामो समयसम्म सामाजिक संलग्नता तथा उत्पादकत्व हुनुको सट्टा रोग बिमार, असक्षमता, परनिर्भरता आदि कारणले समग्र ज्येष्ठ नागरिक र अझ बढी ज्येष्ठ महिलाहरु हिंसाको सिकार हुनु पो पर्ने हो कि भन्ने जोखिम सिर्जना भएको छ”, उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकका सवाल सम्बोधन गर्न यथाशीघ्र ज्येष्ठ नागरिक मैत्री भौतिक संरचनाहरु निर्माण हुनुपर्छ, सामाजिक विकासतर्फ उपलब्ध साधन स्रोतलाई ज्येष्ठ नागरिकका सवालमा मूल प्रवाहीकरण गर्नु पर्दछ ।”

मन्त्री आचार्यले ज्येष्ठ महिलालाई सुरक्षित राख्न सम्पत्तिमा महिलाको स्वामित्व अभिवृद्धि, सचेतनामा वृद्धि र मौजुदा व्यवस्थामा सुधार गर्न आवश्यक रहेको समेत बताउनुभयो । उहाँले कानुनी व्यवस्थाहरु सङ्घीयताअनुरुप परिमार्जन र सुधार गर्नुपर्नेमा जोड दिनुभयो । “अब बन्ने १६औँ योजनामा क्षेत्रगत उद्देश्यहरु नीति, रणनीति र कार्यनीतिहरुलाई ज्येष्ठ नागरिक मैत्री बनाउनु पर्ने देखिन्छ”, उहाँले भन्नुभयो ।


प्रतिक्रिया