संसदमा ओलीको आक्रोस– सरकार इतिहासकै असफल
काठमाडौ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार इतिहासकै असफल सरकार भएको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धनको सरकार लोकतन्त्र र संविधान कार्यान्वयनका निम्ति गम्भीर संकट भएको र इतिहासकै असफल सरकार भएको आरोप लगाएका हुन् । वर्तमान सरकारले आफ्नो स्वार्थका लागि पटक पटक संविधान मिच्ने काम गरेको उनले आरोप लगाए ।
अध्यक्ष ओलीले सरकारले संसदलाई समेत आफ्नो स्वार्थमा चलाउन खोजिरहेको भन्दै संविधान दिवसका अवसरमा अपराधीलाई आममाफी दिएकोप्रति पनि आपत्ति जनाए । सरकारल राष्ट्रपतिलाई सेरेमोनियल नभई खोपीको देउता बनाएको र आदेश पालना गर्ने परिपालक राष्ट्रपति बनाएको उनको धारणा छ । अध्यक्ष ओलीले सरकारको सुशासन अभियान तस्कर र हत्यारा संरक्षणमा केन्द्रित रहेको समेत जिकिर गरे । निकै चर्कोसँग खोलिएको ललिता निवासको फाइल बन्द गर्न सरकारलाई पसिना आएको टिप्पणी गर्दै उनलवे सुन काण्डले पनि सरकारलाई हैरान पारेको भन्दै प्रतिपक्षीलाई तर्साउनका लागि बिभिन्न प्रकरण ल्याएको आरोप लगाए ।
संसदमा संवोधन गर्दै अध्यक्ष ओलीले आफु प्रधानमन्त्री हुँदा शान्ति प्रक्रियालाई टुङ्गो लगाउन खोज्दा माओवादीले नै रोकेको आरोप लगाए । हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाउन मन्जुर नरहेको भन्दै उनले अगामी मन्त्रिपरिषद्को बैठकले यसलाई फिर्ता लिन माग गरे ।
ओलीले न्यायालयमाथि पनि गठबन्धनले हस्तक्षेप गरेको आरोप लगाए । जिल्ला न्यायाधीशको परीक्षामा फेल भएका र निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने व्यक्तिलाई न्यायाधीश नियुक्त गरेको भन्दै सरकारबाट आशा गर्न लायक ठाँउ नै नरहेको उनको भनाइ छ ।
