कोशीको मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बोले दावी पेश गर्दै, कांग्रेसका कोइराला पक्षमा असन्तुष्टी
काठमाडौ– कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले दावी पेश गर्ने भएका छन् । उनले माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जसपाको साथ लिएर मुख्यमन्त्रीमा दावी पेश गर्न लागेका हुन् । बिहीबार काठमाडौंमा बसेको सत्ता गठबन्धनको बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि उनले दावी पेश गर्न लागेका हुन् ।
गठबनधनमा सभामुख दिएर राप्रपालाई पनि मनाउने प्रयास भइरहेको छ । यता कांग्रेस नेता शेखर कोइरालाले भने कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसभित्र आफ्नो खेमाले पाउनुपर्ने माग राख्दै आएको छ । आज माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने गठबनधनको निर्णयप्रति कोइराला असन्तुष्ट छन् । यसअघि पनि कांग्रेसबाटै मुख्यमन्त्री बनेको अवस्थामा अहिले पनि कांग्रेसबाटै मुख्यमन्त्री बन्नुपर्ने अडानमा कोइराला छन् ।
राप्रपा नेतृ रोशन कार्कीले अहिले कोशीमा मध्यावधिको अवस्था आउन नदिन राप्रपाले आवश्यक भूमिका निर्वाह गर्ने बताएकी छन् । कोशी सरकारका बारेमा राप्रपाले शुक्रबार पदाधिकारी बैठक बसेर टुंग्याउने जनाएको छ । कोशीमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकारको नेतृत्वमा दाबी गर्न असोज २६ गते शुक्रबार सम्मको समय दिइएको छ ।
